नेकपा अध्यक्ष प्रचण्डले बोलाए सचिवालय बैठक
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय सदस्यहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका छन् ।
पछिल्लो समय अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवाद बढिरहेको बेलामा दाहालले सचिवालय सदस्यहरुलाई आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएका हुन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गर्न सचिवालयका आफ्ना समूहका सदस्यहरुको अनौपचारिक बैठक डाकेका छन्।
प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार अध्यक्ष दाहालले बोलाएको बैठक अनौपचारिक हो । ओली र प्रचण्डबीच बिहीबार बालुवाटारमा भएको छलफलमा झन भनाभन भएको सूचनाहरु आएका छन्।
छलफलमा ओलीले प्रचण्डलाई गुटबन्दी बनाउँदै हिँडेको आरोप लगाएका थिए भने प्रचण्डले पनि बाहिर आफूलाई एउटा आरोप लगाउने अनि ‘जबज’का पक्षमा उभिन नेताहरुलाई निर्देशन दिँदै हिडेको आरोप लगाएका थिए।
नेकपाभित्र आन्तरिक विवाद चर्किरहेको छ । कतिपयले यो विवादले नेकपा नै फुट्ने हो कि भन्ने पनि आशंका गरिरहेका छन् ।
नेकपाका दोस्रो तहका नेताहरुले भने एकता जोगाउँदै अघि बढ्नुपर्ने र यसको लागि पार्टी कमिटीका बैठकहरु बोलाउनुपर्नेमा जोड दिएका छन् ।
हिजोको भेटमा दाहालले ओलीसमक्ष सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका थिए । जवाफमा ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नरहेको कडा जवाफ फर्काएका थिए ।
यता प्रचण्डले भने उत्पन्न समस्या समाधानका लागि बैठक डाकौँ भन्दा आफ्नो राजीनामा मागेको भन्दै बाहिर भ्रम सिर्जना गरेर राम्रो नगरेको ओलीलाई भनेका थिए।
विवादकाबीच पाँच दिनपछि ओली र प्रचण्डले हिजो छलफल गरेका थिए।त्यसअघि ओलीले मन्त्रिपरिषद् बैठकमा मुलुकमा राजनीतिक संकट आउने संकेत देखा परेको र त्यसको सामनाका लागि तयार रहन मन्त्रीहरुलाई निर्देशन दिएका थिए।
ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी खुमलटार र कोटेश्वरले गरिरहेको तर त्यो परास्त गरेर छोड्ने दाबी गरेका थिए।
राजदूत नियुक्ति, मन्त्रीपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद सुरु भएको थियो।