Logo
१२ श्रावण २०८१, शनिबार
(November 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीका पछिल्ला क्रियाकलाप देखेर प्रचण्ड रुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय अस्वभाविक गतिविधी देखाएको भन्दै नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड रुष्ट बनेका छन् ।

ओली पक्षले आफू निकट प्रदेश १ एकका नेताहरुलाई ‘जुम’ बाट जनताको बहुदलीय जनवाद (जबज)का पक्षमा उभिन दिएको निर्देशन र ओलीले आफ्नो राजीनामा मागेको र त्यसो गरिएमा देश बर्बादीतर्फ धकलिने अभिव्यक्तिको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ति जनाएका छन्।

बिहीबार प्रचण्डले बालुवाटारमा ओलीलाई बाहिर आफूलाई दोष दिँदै भित्र आफैले ‘फेज आउट’ घोषणा गरेको जबजका पक्षमा उभिएर पार्टी फुटाउने तयारी गर भन्दै आफ्ना नेताहरुलाई निर्देशन दिनु आपत्तिजनक भएको भनेका छन्।

यस्तै प्रधानमन्त्री ओलीले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्ना विरोधीले राजीनामा माग गरेको र आफूले त्यसो गरेमा देश बर्बादीतर्फ जाने भन्दै दिएको अभिव्यक्तिलाई लिएर पनि प्रचण्डले आपत्ति जनाएका छन्।

बालुवाटार स्रोतका अनुसार प्रचण्डले ओलीलाई भनेका थिए, ‘मैले पार्टी फुटाउन चाहेको भनेको छैन। आफै जबजलाई पार्टी फुठाउन तयार भएर आफू निकट नेताहरुलाई निर्देशन दिने तपाईको काम प्रति मेरो घोर आपत्ति छ। एकताको आधार तपाईँले नै भत्काउँदै हुनुहुन्छ। विचारमा हाम्रो के सहमति भएको थियो सम्झना गर्नुहोस्?’

स्रोतका अनुसार प्रचण्ड त्यतिमा रोकिएका थिएनन। उनले ओलीलाई भनेका थिए, ‘हामीले तपाईँको राजीनामा कहिले मागेका छौँ? उत्पन्न मतभेद अन्त्यका लागि पार्टी कमिटीको बैठकको माग गरेको हो। तपाईँ पहिल्यै डराएर मेरो राजीनामा मागियो भन्दै हिँड्न कति शोभनीय काम हो?’

तर ओलीले भने जबजका लागि गोप्य बैठक गरेको अस्वीकार गरेको भन्दै आफ्नो बचाउ गरेका छन्। तर आफ्नो राजीनामा लागि षड्यन्त्र भइरहेको भन्दै प्रचण्डलाई समूह भेला गराउँदैमा जित नहुने भन्दै चेतावनी दिएको स्रोत बताउँछ।

प्रचण्ड र ओलीबीच पछिल्लो पटक पाँच दिन अघि शनिबार भेट भएको थियो। उक्त भेटमा प्रचण्डले पार्टी कमिटी बैठक बोलाउन माग गर्दा ओलीले आफू बैठक नबोलाउने, बहमुत संख्यालाई नमान्ने बरु पार्टी एकताका आधारहरु भत्काउने कोशिश गरेर कचिङ्गल मात्र गर्न भन्दा अलगअलग हुनु राम्रो हुने भनेको प्रचण्डले भोलिपल्ट आफ्नो निवासमा भएको भेलामा ‘ब्रिफिङ’ गरेका थिए।

त्यसपछि प्रचण्ड र ओली समूह एकअर्कालाई पार्टी फुटाउन चाहेको भन्दै दोषारोपणमा उत्रेका बेला र आआफ्नो शक्ति प्रदर्शन समेत जारी राखेका बेला ओली र प्रचण्डबीच बिहीबार छलफल भएको हो।

बिहीबारको छलफलमा बुधबार विकसित भएका दुई घटनाबारे प्रचण्ड र ओलीबीच बादबिबाद भएपछि बैठक डाक्ने मामिलामा छलफल नै हुन नपाएको स्रोत बताउँछ।

स्रोत भन्छ, ‘अब कमिटी बैठक नै आयोजना गर्ने आफ्नो अडान प्रचण्डले बालुवाटार गएर सुनाउन चाहन्थे। तर अहिले दुई अध्यक्षबीच छलफल र समझदारी भएपछि मात्रै कमिटी बैठक बोलाउन आफ्नो अडान ओलीले प्रचण्डलाई पनि सुनाउन चाहन्थे। तर बुधबार जबजका पक्षमा उभिन आफू निकट नेतालाई ओली पक्ष जुटेपछि र ओलीले आफ्नो राजीनामा मागेको दाबी सार्वजनिकरुमा गरेपछि विवादले अर्को मोड लिएको छ।’

प्रचण्डसँग असमझदारी चुलिँदै गएपछि ओलीले संविधान र कानुनअनुसार भन्दै बिहीबार नै दलविभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने या मन्त्रिमण्डलमा व्यापक हेरफेर गर्ने तयारी गरेको सूचनाहरु प्राप्त भएका छन्।

भदौ २५ गतेको स्थायी कमिटी बैठकको निर्णयबिपरित ओलीले राजदूत नियुक्त गरेको, मन्त्रिमपरिषद्मा हेरफेर गरेको, कर्णाली विवादलाई चर्काएको, भारतीय जासुसी संस्थाका प्रमुखलाई भेटेको भन्दै प्रचण्ड पक्ष ओलीसँग असन्तुष्ट छ।

प्रकाशित मिति: Nov 5, 2020

प्रतिक्रिया दिनुहोस्