Logo
१२ श्रावण २०८१, शनिबार
(November 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मेयरसापको आदेश’ भन्दै काठमाडौ‌ं महानगरले रोक्यो नि:शुल्क खाना अभियान

देशको संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए ।

सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।

महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।

महानगरका एक अधिकारीका अनुसार खाना खुवाउने भए आफैंले पार्टी प्यालेस भाडामा लिन अभियान्ताहरुलाई भनिएको छ ।
‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानअन्तरगत सडकमा सहयोगको अपेक्षा राख्नेमाथि आश्रममार्फत सेवा दिने काम भइरहेको महानगरपालिकाले जनाएको छ ।

फाइल तस्वीर ।

 

प्रकाशित मिति: Nov 2, 2020

प्रतिक्रिया दिनुहोस्