Logo
१२ श्रावण २०८१, शनिबार
(October 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मर्नु नपरोस् : राजेन्द्र लिङ्देन

संघीय सांसद् राजेन्द्र प्रसाद लिङ्देनले आज झापाका अस्पतालको अनुगमन गरी बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित एक मात्र सदस्य लिङ्देनले भद्रपुरको मेची प्रादेशिक अस्पतालबाट अनुगमन शुरु गरेका थिए ।

त्यसपछि भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल र बिर्तामोडको बिएन्डसी हस्पिटलको पनि उनले अनुगमन गरेका छन् ।

मेची प्रादेशिक अस्पतालको अनुुगमन क्रममा सांसद् लिङ्देनले सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरसँग सञ्चालन भइरहेको कोभिड हस्पिटलको अवस्था र समस्याका बारेमा जानकारी लिएका छन् ।

डा ठाकुरले कोभिड र कोभिड नभएका सबै किसिमका बिरामीको उपचार भइरहेको जनाउँदै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि सरकारले तोकेबमोजिमको भत्ता सुविधा नपाएको अवगत गराए ।

सांसद् लिङ्देनले बिएन्डसी हस्पिटलमा उपचारका लागि आएका सर्वसाधारण र कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भेटेर त्यहाँबाट प्रवाह भइरहेको उपचार सेवाका बारेमा जानकारी लिए।

कार्यकारी प्रमुख प्रसाईँले निजी हस्पिटलहरुले कोभिड बिरामीलाई उपचार सेवा प्रदान गरेर महामारीविरुद्धको अभियानमा ठूलो टेवा पुर्‍याएको बताए ।

आफ्नो हस्पिटलबाट कोभिडका बिरामी कसैलाई पनि नफर्काइएको र छुट्टै राखेर उपचार गरिएको जानकारी गराउँदै उनले केही दिनमा पिसिआर मेसिन राखेर सेवा प्रदान गरिने बताए ।

राप्रपाका पूर्वमहामन्त्री लिङ्देनले कोरोनाको बहानामा अस्पतालले उपचार नगरी बिरामी फर्काउने गरेको र त्यसकै कारण अस्पताल चहार्दाचहार्दै मृत्युवरण गर्नुपर्ने दुःखद् अवस्था आएको जनगुनासो आएका कारण आफू अनुगमनमा निस्किनुपरेको बताए ।

कोभिड -१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यकर्मीले दिएको योगदान प्रशंसनीय रहेको बताउँदै सांसद् लिङ्देनले सरकारी पक्षबाट अस्पतालको नियमित अनुगमन हुनुपर्ने सुझाव दिए ।

ओमसाई हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जनप्रतिनिधिद्वारा अस्पतालको अनुगमन भएकामा खुशी व्यक्त गर्दै कोभिडविरुद्धको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: Oct 29, 2020

प्रतिक्रिया दिनुहोस्