Logo
१२ श्रावण २०८१, शनिबार
(October 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समुदायमा कोरोना सङ्क्रमण देखिएपछि मिक्लाजुङमा निषेधाज्ञा जारी

प्रदेश नं १ स्थित पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मिक्लाजुङ-४ रबीका छ स्थानीयवासीमा सङ्क्रमण देखिएपछि आजदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी दिए ।

गाउँपालिकाले औषधि पसल, दूध र दुग्धजन्यबाहेक व्यापार व्यवसाय बन्द गर्नाका साथै ग्रामीण भेगमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै शववाहन, एम्बुलेन्स र निर्माण सामग्री ढुवानी गर्ने साधनबाहेक सम्पूर्ण सवारीका साधनसमेत उक्त अवधिका लागि बन्द गरिएको गाउँपालिकाद्वारा आज जारी सूचनामा उल्लेख छ ।

गाउँपालिका स्वास्थ्य एकाइका प्रमुख अग्नि चम्लागाईँका अनुसार यही कात्तिक ४ गते झापाको दमकबाट रबी आएकी एक महिलामा गरिएको परीक्षणमा कोभिड-१९ सङ्क्रमण देखिएको थियो ।

आज सङ्क्रमित महिलाको सम्पर्कमा रहेका उनका एक छोरा तथा उनी बस्दै आएको घरका तीन महिला र एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

छ सङ्क्रमितमध्ये एकलाई ज्वरोसहित कोरोना भाइरस सङ्क्रमणका लक्षण देखिएको चम्लागाईँले जानकारी दिए । उनीहरुमध्ये दुई जनालाई प्राथमिक स्वास्थ्य केन्द्र रबीको कोभिड-१९ अस्थायी अस्पतालमा राखिएको छ भने चार जना होम आइसोलेशनमा छन् ।

पाँचथरमा पहिलो पटक समुदायमा कोभिड-१९ सङ्क्रमण देखिएको हो ।

प्रकाशित मिति: Oct 28, 2020

प्रतिक्रिया दिनुहोस्