Logo
१२ बैशाख २०८१, बुधबार
(October 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रातिको समयमा रअका प्रमुखलाई प्रधानमन्त्रीले भेट्नु आपतिजनक’

नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ ।

२३ जना नागरिक अगुवाले शनिबार एक अपिल प्रकाशित गरी विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने बताएका छन् ।

‘‍…प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारी सहित शिष्टाचार भेट हुनु पर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समयमा, जसरी, जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नु भयो त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिंदैन’ अपिलमा भनिएको छ ।

प्रधानमन्त्रीले बुधबार राति रअका प्रमुख गोयलसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।

विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्बोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई शिष्टाचार भेट भन्न नसकिने पनि उनीहरुले बताएका छन् ।

रअले नेपाल लगायत अरू मुलुकको अन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गर्दै अक्सर विवादास्पद भूमिका निर्वाह गरिरहेको भन्दै नागरिक अगुवाहरुले यस्ता संस्थाका प्रमुखसँग कुनै पदाधिकारी वा नेताबाट गैरकुटनैतिक भेटघाट भएमा निरुत्साहित र नियन्त्रित गर्नुपर्नेमा मुलुकको सर्वोच्च कार्यकारी प्रमुख आफैंले भेटघाट गर्नु कुटनैतिक आचार संहिता विपरीत हुने बताएका छन् ।

नागरिक अगुवाहरुले ‘रअ’ प्रमुखको यो भ्रमणको एजेण्डा के थियो, कसले आमन्त्रण गरेको थियो या कुनै आमन्त्रण बिनाको उनको आगमन हो, प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता को-को सँग र कुन-कुन विषयमा गरियो, प्रचलित कुटनीतिक कार्यविधि अनुसारको कुटनैतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसंग नेपालले एकदमै अपर्झट कुरा गर्नु पर्ने विषय के थियो भनी प्रश्न पनि गरेका छन् ।

प्रकाशित मिति: Oct 24, 2020

प्रतिक्रिया दिनुहोस्