Logo
१३ बैशाख २०८१, बिहीबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मास्क र सामाजिक दूरीले कोरोना संक्रमण नियन्त्रण हुन्छ : डा रवीन्द्र पाण्डे

काठमाडौं उपत्यकामा कोभिड-१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडा कहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् ।

यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिनुहुन्छ ।

दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उहाँको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ ।

टीका थाप्ने र लगाउने दुवै पक्षलाई मास्क प्रयोग तथा घर बाहिर निस्केपछि मास्क नखान तथा खानाखाजा नखान पनि उहाँले सल्लाह दिनुभएको छ ।

अहिले आइरहेको दशैँ र त्यसपछि आउने तिहार, छठ, ल्होसारले गर्दा बजारमा भीडभाड बढिरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले यस समयमा कडाइका साथ सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गराउन र नागरिकले गर्न लाग्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “ काठमाडौँका फुटपाथका पसललाई खुलामञ्च वा भृकुटीमण्डपमा सार्नुपर्छ र बसहरुमा एक सिटमा एक जना मात्रै बस्नुपर्छ ।”

काठमाडौँ उपत्यका बाहिर जाने नागरिकलाई ‘होम आइसोलेसन’ मा बस्न स्थानीय तहले समन्वय गर्नुपर्छ । उहाँले भन्नुभयो, “घर जाने व्यक्तिले आफूसँगै सङ्क्रमण लैजाँदा घरका नागरिक जो दीर्घरोगी हुनसक्छन्, लाई पछि गम्भीर असर गर्नसक्छ ।”

सरकारले के ग¥यो र के गरेन भन्नुभन्दा पनि नागरिक आफैँ सजग हुनुपर्ने डा पाण्डेको सुझाव छ । नेपालमा कोभिड फैलिएको आठ महिनामा पनि अझै नागरिकले मास्क लगाउन, दूरी कायम राख्न र र भीडभाड नगर्न नसिकेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

मास्कलाई नाक, मुख छोपेर सही तरिकाले लगाउँदा सङ्क्रमण फैलन सम्भावना कम हुने देखिएको उहाँले अध्ययन गर्नुभएको छ ।

नब्बे प्रतिशतभन्दा बढी नागरिकले सही तरीकाले मास्क लगाउने चीन, भियतनाम, कम्बोडिया, जापानलगायत देशमा कोरोना नियन्त्रणमा रहेको उहाँले उदाहरण दिनुभयो । ती देशमा नागरिकलाई खोप पनि नचाहिएको र सरकारले बन्दाबन्दी नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनता अनुशासित हुँदा महामारी घट्छ, कोरोना चाँडो नियन्त्रणमा आउँछ ।”काठमाडौँ उपत्यकामा अहिले नै समुदायस्तरमा कोभिड-१९ फैलिसकेकाले दशैँ तिहार, छठलगायत चाडपर्वमा सङ्क्रमण अझै धेरै फैलनसक्ने अनुमान विज्ञले गर्दै आएका छन् ।

घर बाहिर हुँदा मास्क नलगाउने र भीडभाड गर्नेलाई कारवाही गर्नुपर्ने उहाँले माग गर्नुभयो । निजी ठूला अस्पताल र केही सरकारी अस्पताललाई कोभिड अस्पताल बनाएर सबै शय्या, जनशक्ति र सघन उपचार कक्ष लिन सकिने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “त्यसो हुँदा साना अस्पतालबाट अरु दीर्घरोगीले सेवा पनि सक्छन् ।”

अहिले पनि सही तरीकाले मास्क लगाउँदा र सामाजिक दूरी कायम गर्दा छ देखि १२ हप्तामा सङ्क्रमण नियन्त्रणमा आउने डा पाण्डेको भनाइ छ ।

यस वर्ष चाडपर्वमा बलि दिने, जात्रा गर्ने, तास खेल्नेलगायत गतिविधि पूरै रोक्नुपर्नेमा उहाँको जोड छ । चाडपर्वका समयमा कसरी सङ्क्रमण फैलन रोक्न सकिन्छ भनी मुख्यसचिव शङ्करदास वैरागीले गत साता विज्ञसँग सुझाव लिनुभएको थियो ।

विज्ञले बन्दाबन्दी गरे वा नगरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएका थिए । पहिले ‘लकडाउन’ वा ‘सटडाउन’ गर्दा बजार वा सडकमा मात्रै आवतजावत रोकेर बस्ती, चोकमा तरकारी बजारमा भीड रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले लकडाउन नाम नदिइए पनि भीडभाड हुने स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाएर भीड नियन्त्रण र मास्कको प्रयोग बढाउनुपर्छ

प्रकाशित मिति: Oct 22, 2020

प्रतिक्रिया दिनुहोस्