Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानव अधिकार आयोग आजदेखि पदाधिकारी बिहीन, आकांक्षीहरुको लर्विङ तीव्र !

राष्ट्रिय मानव अधिकार आयोग आजदेखि पदाधिकारी बिहीन बन्न पुगेको छ ।
आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पाँच जनाले आइतबारदेखि अवकास पाएसँगै आयोग पदाधिकारी बिहीन बनेको हो ।

२०७१ साल कात्तिक २ गते आयोगमा पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा अध्यक्षका रुपमा संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका थिए।

त्यस्तै आयोगको सदस्यका रुपमा एकै दिन प्रकाश वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मा पौडेल नियुक्त भएका थिए।

वस्ती सर्वोच्च अदालतका पूर्वअस्थायी न्यायाधीश, पाठक मानव अधिकार आयोगकै पूर्वसदस्य, अन्सारी महिला आयोगकी पूर्वसदस्य र पौडेल वरिष्ठ अधिवक्ताको हैसियतमा आयोगको पदाधिकारी बन्न पुगेका थिए।

आयोगका निर्देशक डा. टिकाराम पोखरेलले पाँचै जना पदाधिकारीको जुम मिटिङमार्फत बिदाइ कार्यक्रम भइरहेको जानकारी दिए।

शर्मा नेतृत्व पदाधिकारीहरुले केही दिनअघि मात्रै २८८ जना मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको थियो।

विशेष गरी आयोगको अध्यक्षका लागि पूर्वप्रधानन्यायाधीश र मानव अधिकारको क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुले लबिङ सुरु गरेका छन्।

अब दसैँअघि संवैधानिक परिषदको बैठक बसेर पदाधिकारी सिफारिस गर्ने सम्भावना कम भए पनि अध्यक्षका लागि पूर्वप्रधानन्यायाधीशहरुले सत्तारुढ दलका प्रभावशाली नेता र विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटेर आफ्नो पक्षमा लविङ गरिरहेका छन्।

स्रोतका अनुसार आयोगको अध्यक्ष बन्नका पूर्वप्रधानयायाधीशहरु मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्र लागि परेका छन्। त्यस्तै मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका र राष्ट्रपतिको सल्लाहकारसमेत भइसकेका सुशील प्याकुरेल पनि अध्यक्षको प्रमुख दाबेदारका रुपमा देखिएका छन्।

संभावित मध्ये कसलाई आयोगको अध्यक्ष बनाउने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले निकट नेताहरुसँग एकसरो कुराकानी गरिसकेका छन्।

संसदीय सदका उपनेता समेत रहेका पूर्वसभामुख सुवास नेम्वाङले श्रेष्ठलाई आयोगको अध्यक्ष बनाउनु उपयुक्त हुने सुझाव दिए पनि प्रधानमन्त्री ओलीले सकारात्मक प्रतिक्रिया नजनाएको बुझिएको छ।

प्रकाशित मिति: Oct 18, 2020

प्रतिक्रिया दिनुहोस्