Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोभिडले अर्थतन्त्र र सीमान्तकृत किसानलाई बढी नकारात्मक असर पारेको छ : प्रधानमन्त्री

विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री ओलीले कोभिड महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताएका छन् ।

विश्व खाद्य दिवस: हाम्रो पहल : दिगो कृषि, पोषिलो आहार’ नाराका साथ यस वर्ष ४० औं विश्व खाद्य दिवस आज नेपालमा पनि मनाइँदैछ ।

दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग र कृषिका लागि खाद्य अभियानको सहकार्यमा आइतबारदेखि विभिन्न कार्यक्रम गरिएको कृषि विभागका सूचना अधिकारी महादेव पौडेलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीको नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्बन्धित निकायलाई आह्वान गरेका छन् ।

साथै उनले कृषि तथा खाद्य सुरक्षासम्बन्धी विषय संघ, प्रदेश र पालिकाको अधिकार सूचीमा रहेको भन्दै तीनै तहका सरकारको तालवद्ध र समन्वयात्मक प्रयासमा जोड दिए ।

सरकारले अगाडि सारेको ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारालाई सार्थक तुल्याउन पनि व्यावहारिक अभ्यासको खाँचो रहेको औंल्याएका छन् ।

अझै पनि ६० प्रतिशतभन्दा बढी नेपाली कृषि कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कृषिमा संलग्न रहेको तथ्याङ्क छ । कृषि विभागका महानिर्देशक गोविन्दप्रसाद शर्माले कोरोना संकटले कृषिमा अवसर सिर्जना गरेको भए पनि कृषि क्षेत्रलाई व्यवस्थित गर्न नसक्नु कमजोरी रहेको बताए ।

उनले तीन तहका सरकारबीच समन्वयको अभाव खड्किएको समेत बताए । महानिर्देशक शर्माले रैथाने खाना र खेतीबाली जोगाउनु अहिलेको मुख्य चुनौती रहेको समेत बताए ।

सन् २०१५ मा भएको संयुक्त राष्ट्र संघको दिगो विकास सम्मेलनमा १ सय ९३ देशले आउँदो १५ वर्षभित्र भोकमरी अन्त्य गर्न शून्य भोक अभियान चलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्यसको दुई महिनापछि फ्रान्सको राजधानी पेरिसमा भेला भएका १ सय ९५ देशका उच्चस्तरीय प्रतिनिधिहरूले खाद्य सुरक्षा विश्वको मुख्य प्राथमिकता रहेको र जलवायु परिवर्तनको असर घटाउँदै सन् २०३० सम्ममा शून्य भोक बनाउन प्रतिवद्धता जनाएका थिए ।

स्थानीय विशेषता रहेका अन्नबाली बिस्तारै उत्पादन हुन छाड्नु, अत्याधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने बिउ लोप हुँदै जानु २१ औं शताब्दीको खाद्यान्न व्यवस्थापनको चुनौती मानिएको छ ।

प्रकाशित मिति: Oct 16, 2020

प्रतिक्रिया दिनुहोस्