Logo
७ बैशाख २०८१, शुक्रबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका कारण चित्लाङको एतिहासिक अम्बे जात्रा स्थगित

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगन गरिएको छ ।

कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगन गरिएको हो । थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालले हिन्दू धर्मअनुसार ६४ शिवलिङ्गमध्ये एक मानिने चम्पाकेश्वर मन्दिर परिसरमा लाग्ने अम्बेजात्रामा यस वर्ष नित्यपूजा र क्षमापूजा मात्र हुने बताए ।

‘अघिल्ला वर्षमा जस्तो बजार राख्ने, लाखबत्ती बाल्ने, रुद्री गर्ने जस्ता क्रियाकलाप बन्द गरिने छ,’ उनले भने ।जात्रामा हरेक वर्ष मकवानपुरका मात्र नभई धादिङ, काठमाण्डौँ, भक्तपुर, ललितपुरलगायत जिल्लाबाट समेत भक्तजनको घुइँचो लाग्ने गरेको थियो ।

अम्बेजात्रालाई स्थानीयवासी गोपाली९गोपालवंशका मानिने०ले विशेष महत्व दिएर मनाउने गरेका थिए । स्थानीय न्हुँलगाउँ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले प्रत्येक वर्ष जात्रामा विशेष पूजाका लागि महादेवलाई जाँड र एकै पटक कुटिएको चिउरा चढाउने प्रचलन छ ।

गोपालीले टाउकामा पगरी र फूल सिउरेर घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलनसमेत छ ।चम्पाकेश्वर मन्दिरमा प्रयोग गरिएको सम्पूर्ण काठ चाँपको छ ।

चाँपको रुखको फेदमा उत्पत्ति भएको भन्ने किंवदन्तीअनुसार स्थानीयवासी चम्पाकेश्वर महादेवका रुपमा पुज्छन् । चम्पाकेश्वरको पूजा गरे गाउँमा पानी पर्ने र गाईवस्तु पालन फस्टाउने स्थानीयवासीको विश्वास रहिआएको छ ।

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्