Logo
२६ बैशाख २०८१, बुधबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाले राखेको पार्टी प्रवेश कार्यक्रम के ‘कोरोनालाई निम्तो’ दिनकै लागि हो त ?

कोरोना महमारीको त्रास फैलिइरहेको बेला जनता समाजवादी पार्टीले सोमबार पर्सामा पार्टी प्रवेश कार्यक्रमको तयारी गरेको छ। र, पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जिल्लाका गाउँगाउँबाट नेता कार्यकर्तालाई सहभागी हुन भनिएको छ।

महामारीका बिच कतै जसपाले राखेको पार्टी प्रवेश कार्यक्रम कार्यक्रम कोरोनालाई निम्तो दिनकै लागि त होइन भन्ने शंका उब्जिएको छ ।

पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता डा.बाबुराम भट्टराई सहभागी हुन सोमबार वीरगंज पुग्ने बताइएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत वीरगंजमै छन्।

जसपाका प्रवक्ता केशव झाले पनि पार्टी प्रवेश कार्यक्रमका लागि अध्यक्ष यादव र वरिष्ठ नेता भट्टराईको सोमबार वीरगंज जाने कार्यक्रम रहेको पुष्टि गरे।

अध्यक्ष यादवसहित पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता भट्टराई आउने भएपछि वीरगंजमा जसापले एकहिसाबले शक्ति प्रदर्शनकै तयारी गरिरहेको बताइएको छ। ‘पार्टीका दुईजना ठूला नेता आउने भएपछि बढी संख्यामा कार्यकर्तालाई सहभागी हुन भनिएको छ, जिल्लाका सबै कार्यकर्तालाई फोन गरेर सम्पर्क गर्ने काम भइरहेको छ,’ समाजवादी पार्टीका पर्साका एक नेताले भने।

जसपाले पार्टी प्रवेश कार्यक्रमको लागि ग्रामीण भेग रोजेको छ। तर, कार्यक्रम गर्न उसले जिल्ला प्रशासन कार्यालयबाट भने स्वीकृति लिएको छैन्। ‘कोरोनाका कारण हामीले दसैंपनि सामान्य तरिकाले मनाउन भनेका छौं,’ पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामाङ भन्छन्,‘२० जनाभन्दा बढीलाई एक स्थान नउभिन भनिएको छ, भीडभाड गरेर पार्टी प्रवेश कार्यक्रम गर्न कसरी मिल्छ?’

‘कार्यक्रम गर्न उहाँहरूले ६ ठाउँको नाम प्रस्ताव गर्नु भएको छ, हामीले अझै स्वीकृति दिएको छैन्,’ कुरा गर्दै उनले भने,‘भेटघाट कार्यक्रममात्र भन्नु भएको छ, यसबारे उहाँहरूसँग छलफल भइरहेको छ।’

दसैं मान्नपनि रोक लगाइएको बेला भीडभाड गरेर पार्टीको कार्यक्रम गरेर प्रशासनमाथि नै दोष थुपार्ने काम नगरिदन् जिल्लाका नेताहरूलाई आग्रह गरिएको उनले बताए।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्