Logo
१३ बैशाख २०८१, बिहीबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले भन्यो- काठमाडौंमा कोरोना नियन्त्रण गर्न हामीले नसकेकै हो !

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कारोना विरुद्धको लडाइँमा काठमाडौं पछि परेको बताएका छन्। बाहिरका कतिपय जिल्लाहरूले कोरोना नियन्त्रण गर्न राम्रै व्यवस्थापन गरे पनि काठमाडौंमा भने चुनौती देखिएको ज्ञवालीले बताएका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञवालीले कोरोनालाई हल्का रुपमा नलिन आग्रह गरेका छन्। ‘१० लाख ५० हजारभन्दा बढी मानिसको ज्यान लिने यो रोग सामान्य हुँदै होइन्,’ मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘यसप्रतिको उच्च सतर्कतालाई रत्तिभर कमी गर्नु हुँदैन्।’

‘काठमाडौं धेरै हिसाबले देशलाई दृष्टान्त प्रस्तुत गर्ने जिल्लाको रुपमा रहेको छ,हरेक राजनीतिक र समाजिक परिवर्तनमा यसले ठूलो भूमिका खेलेको छ,’ उनले भने, ‘तर, कोरोनाविरुद्धको लडाइँमा कताकता पछि परेको लागेको छ।’ मन्त्री ज्ञवालीले देशभरकै राम्रो अभ्यासलाई सिक्नु जरुरी रहेको उनले बताए।

‘देशकै हटस्पट भएका ठाउँहरूलाई अहिले त्यहाँका स्थानीय जनप्रतिनिधिलगायतका माध्यमबाट नियन्त्रणमा ल्याइएको छ,’ उनले भने, ‘ती ठाउँका असल अभ्यास काठमाडौंमा पनि अनुसरण गर्नुपर्ने देखिएको छ।’ काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भए भयावह अवस्था आउनसक्ने उनले बताए।

‘संक्रमितमध्ये ६० प्रतिशत काठमाडौंमै देखिन थालेका छन्, अस्पतालमा बेड, आइसीयू पाउन कठिन भएको छ,’ मन्त्री ज्ञवालीले भने,‘बढ्दो संक्रमणको अनुपातले चुनौती खडा गरेको छ।’

सरकारले बढ्दो चुनौतीलाई ख्याल गरेर आइसीयू र भेन्टिलेटरको थप प्रबन्ध गरिरहेपनि त्यतिमात्रै पर्याप्त नरहेको भन्दै उनले संक्रमण रोक्न नागरिकको सचेतना जरुरी रहेको बताए। संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपाय अपनाउन उनले जोड दिएका छन्।

पछिल्लो समय काठमाडौंमा भीडभाड बढेको देखिन थालिएको भन्दै मन्त्री ज्ञवालीले यस्ता कार्यले संक्रमण फैलाउन ठूलो भूमिका खेलेको बताए। उल्लासका साथ चाडवाड मनाउने अवस्था नरहेको भन्दै उनले सुरक्षा सतर्कताका साथ दसैं तिहार मनाउन आग्रह गरे।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्