Logo
२६ बैशाख २०८१, बुधबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आरोप प्रमाणित गर्न बाबुराम भट्टराईलाई कांग्रेसको चुनौती

नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा सभापति शेरबहादुर देउवालाई मुछेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा सभापति देउवाको संलग्नताको आरोप प्रमाणित गर्न उनलाई चुनौतीसमेत दिएको छ ।

कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भनिएको भ्रष्टाचारको गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनि गरेको छ । गत बिहीबार भट्टराईले गृहजिल्ला गोरखा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेका थिए ।

कांग्रेसले उनको पछिल्लो अभिव्यक्तिलाई ‘सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा परेका’ भनेको छ ।

“डा. बाबुराम भट्टराई बूढीगण्डकी बारे ज्वलन्त प्रश्नसम्बन्धी तथ्यमा गहिरो अध्ययन र सार्थक पहल गर्नुभन्दा सस्तो टिप्पणीमै बौद्धिकता देखिने भ्रममा पर्नुभएको छ । हलुका टिप्पणीहरुलाई प्रष्टिकरण दिएर वक्तव्य जारी गर्ने नेपाली कांग्रेसको परम्परा छैन । तर देशको प्रधानमन्त्री जस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘म संग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुनजान्छ,” विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले केपी ओली नेतृत्वको सरकार गठन पछि बूढीगण्डकी परियोजनाको जिम्मा विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणमा सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको स्मरण पनि गराएको छ ।

सरकारले विवादस्पद विदेशी कम्पनीलाई सुम्पने तयारी गरेपछि कांग्रेसले २०७५ असोज २१ मा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले बूढीगण्डकी परियोजना प्रकरणबारे गरेका निर्णयहरु नै प्रेस विज्ञप्तिमा सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्