Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालकृष्ण मावि, भूटाहा : विद्यार्थीका रोलमोडल ‘नजाम सर’

पढाउनु प्रक्रिया मात्र होइन, कला पनि हो । ज्ञान हुनु वा विषयमा पोख्त हुनु मात्र शिक्षणका निम्ति आवश्यक पर्ने गुण होइन । एउटा असल शिक्षक बन्न ज्ञानका साथै कला हुनु आवश्यक हुन्छ ।

अहिले २१ औं शताब्दीका विद्यार्थी शिक्षकभन्दा पहुँचका हिसाबले शक्तिशाली मानिन्छन् । अहिलेका शिक्षकको प्रमुख चुनौती नै विद्यार्थीसँग फिट हुनु हो ।

त्यसका निम्ति शिक्षक र विद्यार्थीबीचको संवाद अनि सम्बन्धले महŒवपूर्ण भूमिका खेल्दछ । ज्ञान र कलाका साथै विद्यार्थीसँगको सुमधुर सम्बन्धका कारण दक्षिणवर्ती क्षेत्रमा मात्रै होइन, प्रदेश १ स्थित सुनसरी जिल्लामा नाम चलेका शिक्षक हुन् निजामुद्दिन अन्सारी अर्थात् नजाम सर ।

पढ्दै गर्दा शिक्षण पेसामा लागेका उनी अहिले हरिनगर गाउँपालिका-१ भुटाहास्थित बालकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

३१ वर्ष लामो प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै उक्त विद्यालयका प्रअ नरेश गुप्ता उमेर हदका कारण अवकाश पाएपछि अन्सारीले बालकृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी पाएका हुन् ।

अन्सारी कक्षा १० सम्म सोही विद्यालयमा पढेका थिए । बिएस्सीको परीक्षा दिएर नतिजा कुर्दै बसेका बेला अन्सारी बुबाको सल्लाह मान्दै तीन दशकअघि उनले शिक्षण पेसा सुरु गरेका थिए ।

२०४५ सालतिर बुबा ओलीबकस मियाँ गाउँकै एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए । निजामुद्दिन अन्सारी भन्छन्, ‘उहाँकै सल्लाहअनुसार शिक्षण पेसामा लागेँ ।

म भर्खरै बिएस्सी परीक्षा दिएर आउँदा विद्यालयमा एउटा शिक्षकको लागि दरबन्दी पनि खाली थियो, बुबाले पढाउँछौं भनेर सोध्नुभयो आफूमा पनि केही गर्छु भन्ने जोस, जाँगर थियो, त्यसैले गर्छु भनेँ ।’

यद्यपि आमा भने जागिरमा लागेपछि छोराको पढाइमा असर पर्छ भनेर सुरुमा नमानेको अन्सारी बताउँछन् । आमालाई ‘कन्भिन्स’ गरेपछि २०४५ सालदेखि अनौपचारिक रूपमा उनको शिक्षण पेसा सुरु भएको थियो ।

बुबा व्यवस्थापन समितिका अध्यक्ष भएको विद्यालयमा ३ वर्ष अस्थायी शिक्षकका रूपमा पढाएका अन्सारी त्यसपछि भने स्थायी शिक्षक बन्नतिर लागे ।

२०२६ साल वैशाख १ गते हरिनगर गाउँपालिका–५ स्थित शिशुवा वसन्तपुरमा जन्मेका उनी २४ वर्षको उमेरमा २०५० सालमा प्रावि स्थायी शिक्षकमा नाम निकाल्न सफल भए ।

२०५० सालमा प्रावि शिक्षकका रूपमा नाम निकालेपछि अन्सारीसँगै उनका सहकर्मीहरूलाई जिल्ला शिक्षा कार्यालय सुनसरीले दरबन्दीमा विभिन्न विद्यालय पठायो ।

अन्सारी भन्छन्, ‘मेरा सहकर्मी साथीलाई जिल्ला शिक्षा कार्यालयले पायक पर्ने स्थानको दरबन्दीमा खटायो भने मलाई दन्तकाली मावि धरान–१४ विजयपुरमा खटाइयो ।’

‘जागिर सुरु गर्दा १५ सय ५० रुपैयाँ तलब हुन्थ्यो, त्यसमाथि धरानको महँगी । अनि उकालो–ओरालो चढ्न धेरै मुस्किल हुन्थ्यो । मन खिन्न भएपछि तत्कालीन जिल्ला शिक्षा अधिकारी हीरा ढकाललाई सर, मसँग तपाईंको के रिसइवी थियो, अरूलाई छेउछाउमा पठाइदिनुभयो भने मलाई किन धरानको डाँडामा पठाइदिनुभयो भन्दै मैले गुनासो गरेँ’-अन्सारीले भने ।

‘तपाईंलाई पठाएको स्कुल प्रस्तावित मावि हो, त्यसैले तपाईंको भविष्य राम्रो हुन्छ भनेर पठाएको हो’ जिल्ला शिक्षा अधिकारी ढकालले भन्दै गर्दा कन्भिन्स गराउन खोजेको भन्ने अन्सारीलाई भान भयो त्यतिबेला ।

पछि त्यो विद्यालय मावि बन्यो । ‘८ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । प्राविका शिक्षकहरूले नै स्वीकृति लिएर ९ र १० कक्षाका विद्यार्थी पढाइयो’ अन्सारी भन्छन्, ‘रिजल्ट धेरै राम्रो आयो ।

पहिलो र दोस्रो ब्याचले सुनसरीमा ३ र ४ स्थान प्राप्त गर्यो । सोही कारण तत्कालीन धरान नगरपालिकाले प्रशंसासहित हामीलाई सम्मान ग¥यो ।’

बिएस्सी, बिएड उत्तीर्ण गरेका अन्सारी हाल एमएडमा अध्ययनरत छन् । माध्यमिक विद्यालयको विज्ञान शिक्षकका रूपमा कार्यरत उनी २७ वर्षदेखि निरन्तर शिक्षण पेसामा लागेका हुन् ।

धरानको विजयपुरस्थित दन्तकाली माविबाट औपचारिक शिक्षण पेसा सुरु गरेका अन्सारीले पढाएका दर्जनौं विद्यार्थी डाक्टर, इञ्जिनियर, वकिल बनेका छन् ।

दन्तकाली माविमा २०५० साल माघ २० गतेदेखि २०५६ साल माघ १९ गतेसम्म उनले प्रावि स्थायी शिक्षकका रूपमा पढाएका थिए भने २०५६ साल माघ २० गतेदेखि २०६१ साल असोज २६ गतेसम्म निमावि शिक्षकका रूपमा कार्यरत थिए ।

यसरी हेर्दा सुनसरीको दक्षिणवर्ती क्षेत्रमा हुर्के बढेका अन्सारीले ११ वर्ष धरानमा अध्यापन गरे । धरानबाट बर्जु गाउँपालिकास्थित नेपाल राष्ट्रिय मावि अमाहीबेला आएका उनी त्यहाँ भने धेरै दिन टिकेनन् ।

२०६१ साल असोज २८ गते मावि शिक्षकका रूपमा आएका उनी उक्त विद्यालयबाट रवाना लिई २०६२ साल साल भदौ १५ गते हिँडे ।

अध्यापनको सिलसिलामा त्यसपछि तत्कालीन सुनसरीको तनमुना गाविस–६ स्थित गोपाल माविमा उनले १० वर्ष पढाए । २०६२ साल साल भदौ १६ गतेदेखि २०७२ साल साल जेठ १६ गतेसम्म सो विद्यालयमा अध्यापन गराएका अन्सारीलाई त्यसपछि भने गाउँकै विद्यालयमा आएर पढाउन आग्रह गरियो ।

गोपाल माविमा २०६८ सालदेखि २०७२ सम्म उनले प्रधानाध्यापकको जिम्मेवारी बहन गरेका थिए । आमाबाबुको उमेर बढ्दै जाँदा घरको जेठो छोरा भएको हिसाबले परिवारलाई समय दिनुका साथै गाउँकै विद्यालयमा आएर अध्यापन गराउन आग्रह आएपछि प्रअको जिम्मेवारी त्याग गर्ने निर्णय अन्सारीले गरे ।

अध्यापन कलाका कारण सजिलै विद्यार्थी आकर्षित गर्ने अन्सारीको विद्यालय छाड्ने निर्णय विरुद्ध विद्यार्थीले आन्दोलन गरे । ‘कसैले विद्यार्थीहरूलाई नजाम सरलाई अभिभावक र विद्यालय व्यवस्थापन समितिले पठाएको भन्ने कुरो प्रचार गरिदिएको रहेछ’ अन्सारी भने, ‘त्यसैले विद्यार्थीहरूले नजाम सरलाई ल्याउनुपर्छ भन्दै आन्दोलन सुरु गरे ।’

‘विद्यार्थीको आन्दोलन नरोकिएपछि विद्यालय पुगेर पारिवारिक समस्याका कारण आफूले विद्यालय छाडेको बताएपछि आन्दोलन रोकिएको थियो’-उनले भने ।

‘गरिबीका कारण सुनसरीको सीमावर्ती क्षेत्रका अधिकांश अभिभावकले छोराछोरीलाई उच्चशिक्षा हासिल गराउन सकेका छैनन्’ अन्सारी भन्छन्, ‘तिनीहरूको उच्चशिक्षा आर्जन गर्ने आकांक्षाका निम्ति म लागिपरेको छु ।

त्यसमा सबैको साथ, सहयोग र सहकार्यको अपेक्षा छ ।’ प्रमाण–पत्र पाउनका लागि भन्दा पनि आत्मनिर्भर बनाउने शिक्षा दिइनु आजको आवश्यकता भएको उनको भनाइ छ भन्दै धरानबाट प्रकाशित ब्लाष्ट टाइम्समा खबर छ । ।

प्रकाशित मिति: Oct 11, 2020

प्रतिक्रिया दिनुहोस्