Logo
१३ बैशाख २०८१, बिहीबार
(October 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं उपत्यकामा आइसियू र भेन्टिलेटर अभाव, बिरामी उपचारै नपाएर मर्ने खतरा बढ्यो

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमणको दर बढिरहेको बेला अस्पतालहरूमा संक्रमितको उपचारका लागि आइसियू र भेन्टिलेटर अभाव हुन थालेको छ।

संक्रमितहरूको उपचार गरिरहेका अधिकांश अस्पतालहरूको आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन्। सबैजसो अस्पतालहरूले नयाँ बिरामीलाई आइसियूमा राख्ने ठाउँ नभएको बताएका छन्।

महाराजगंजस्थित टिचिङ अस्पतालमा रहेको १६ बेडको आइसियू बेड भरिएको छ। अस्पतालमा अहिले १६ जना संक्रमितहरूको आइसियूमा उपचार भइरहेको छ। जसमा ४ जना भेन्टिलेटरमा छन्।

अस्पतालका कोभिड सदस्य डा. सविन थपलिया भन्छन्, ‘अब आइसियू बेड खाली छैन। हिजो एक जनाको मृत्यु भएकाले त्यहीँ एउटा खाली छ।’

अस्पतालले कोरोना संक्रमितको उपचारका लागि भनेर १० वटा आइसियूसहित पाँच वटा भेन्टिलेटर बेड छुट्याएको थियो। संक्रमित संख्या बढ्दै गएपछि अस्पतालले शंकास्पद बिरामीलाई राख्न छुट्याएको ६ वटा आइसियूमा पनि अहिले पोजेटिभ संक्रमितलाई नै राखिरहेको छ।

डा. थपलियाका अनुसार अहिले अस्पतालमा १ सय ६ जना संक्रमितको उपचार भइरहेको छ।

उनले अहिले कुनै पनि नयाँ संक्रमितलाई तुरून्त आइसियूमा भर्ना गर्नु परे बेड नै नभएको बताए।

काठमाडौं उपत्यकामा थप २५४० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० सय जनालाई संक्रमण पुष्टि भएको हो।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जना संक्रमित थपिएका छन्। योसहित अहिलेसम्म कोरोना संक्रमित संख्या ९८६१७ पुगेको छ।

प्रकाशित मिति: Oct 8, 2020

प्रतिक्रिया दिनुहोस्