Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दसैँको मुखमा देशव्यापी लकडाउन नहुने

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपनि देशव्यापी लकडाउन नहुने भएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेपनि सरकारले तत्काल लकडाउन नगर्ने भएको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना छैन । उनका अनुसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’ हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्नेछ ।

चैत १० मा नेपालमा दोस्रो संक्रमण पुष्टि भएसँगै सरकारले देशभर लकडाउन गरेको थियो, जुन साउन ६ सम्म कायम रह्यो । त्यसपछि सरकारले संक्रमण बढे निषेधाज्ञा जारी गर्र्ने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो । सोहीअनुसार साउन अन्तिम साताबाट भदौभरि देशका धेरैै जिल्लामा निषेधाज्ञा जारी समेत भएको थियो ।

काठमाडौं उपत्यकामा स्थानीय प्रशासनले भदौ ३ देखि तीन सातासम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि सरकारले थप क्षेत्रहरु खुला गर्दै लगेको छ । र, त्यहीबेला स्वास्थ्य मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्न सिफारिस गरेपछि दशैंकै बेला देशभर बन्दाबन्दी त हुने होइन भन्ने त्रास सबैतिर छाएको छ ।

सरकारका प्रवक्ता मन्त्री ज्ञवालीका अनुसार अहिले दैनिक भेटिने संक्रमितमा आधाभन्दा बढी काठमाडौं उपत्यकाकै छन्, आइसोलेसन वार्डहरु पनि भरिँदै गएका छन् । यसका लागि विशेष व्यवस्था गर्नेगरी सरकार लाग्नेतयारीमा छ ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्