Logo
१५ चैत्र २०८०, बिहीबार
(October 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाडपर्वलाई लक्षित गर्दै काठमाडौंमा विशेष सुरक्षा योजना लागु

कोरोनाकाबीच काठमाडौं प्रहरीले दसैं, तिहार र छठसम्मका लागि विशेष सुरक्षा योजना लागु गरेको छ ।

चाडपर्वको समयमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागु गरिएको हो । प्रहरीले विभिन्‍न चाडपर्वका बेला सुरक्षा योजनाहरु लागु गर्दै आएको छ ।

दसैं, तिहार छठलगायत पर्वका लागि उपत्यका छाड्नेको संख्या बढी हुने र यस्तो समयमा चोरी, ठगी, पकेटमारी, लुटपाट, कालोबजारीलगायत अपराधिक क्रियाकलाप बढ्नसक्ने भन्दै सक्रियता बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा तालिमप्राप्त कुकुरबाट जाँच सुरु गरिएको छ । दसैंकै लागि उपत्यका छाड्ने क्रम पनि सुरु भएको छ । यस्तो समयमा यात्रुलाई सहजता प्रदान गर्न बसपार्कलगायत विभिन्‍न स्थानमा यात्रु सहायता कक्ष राखिएको एसएसपी ज्ञवालीले बताए ।
चाडपर्वको समयमा आर्थिक अपराध बढ्नसक्ने भन्दै प्रहरीले सतर्कता अपनाउनसमेत आग्रह गरेको छ । एसएसपी ज्ञवालीले भने, “यस्तो समयमा पैसा साटिदिनेलगायत विभिन्‍न बहानामा ठगी हुनसक्छ । त्यसैले अपरिचितसँग आर्थिक कारोबार नगर्नुहोस् । आवश्यकताभन्दा बढी नगद बोकेर नहिँड्नुहोस् ।”

बैंक तथा वित्तीय क्षेत्रलाई समेत सुरक्षा निगरानीमा राखेर एटीएम बुथमा समेत सादा पोसाकका प्रहरी परिचालन गरिएको एसएसपी ज्ञवाली बताउँछन् ।

दिउँसो घरबाहिर निस्कँदा घरको गेटमा ताल्चा लगाएर निस्कन र लामो समयसम्मका लागि निस्कन लागेको भए नजिकका छिमेकी वा प्रहरीलाई जानकारी दिनसमेत ज्ञवालीले आग्रह गरे ।

दसैंका लागि उपत्यकाबाट लाखौं मानिस बाहिरिने गर्छन् । तर यो वर्ष अघिल्लो वर्षजस्तो बाहिरिनेको चाप देखिएको छैन । कोभिड-१९ को महामारीपछि सरकारले गरेको लकडाउनकै समयमै लाखौं विद्यार्थीले उपत्यका छाडिसकेका छन् ।

विद्यालय, कलेज नखुलेकाले उनीहरु फर्किएका छैनन् । त्यसैले विगतको जस्तो घर जाने यात्रुको चाप नहुने प्रहरीको बुझाइ छ । तर पछिल्लो केही दिनयता बढी भाडा लिने, जबरजस्ती यात्रुलाई आफ्नो सवारीमा चढ्न लगाउने ३५ जना बढीलाई कारबाही गरिएको एसएसपी ज्ञवालीले बताए ।

प्रकाशित मिति: Oct 7, 2020

प्रतिक्रिया दिनुहोस्