कोरोनाका कारण सर्बोच्चमा वामदेवविरुद्धको रिट निवेदनको सुनुवाइ स्थगित
नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि सर्वोच्चमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।
कोरोनाका कारण सर्वोच्च अदालतमा आज सुनुवाई तोकिएको उपाध्यक्ष गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धित रिटमाथिको सुनुवाइ स्थगित भएको हो ।
आज सर्वोच्च अदालतमा न्यायाधीश प्रकाशमानसिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयाँलको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ ।
अदालतका न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि विगत तीन दिनदेखि सर्वोच्च अदालतको सेवा प्रभावित भएका छन् ।
गौतमको राष्ट्रियसभा सदस्य सम्बन्धि रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणासहितको पूर्ण इजलासमा सुनुवाई भइरहेको भएपनि आज उक्त इजलास राखिएको छैन् ।
यसअघि असोज १४ गते सुनुवाइ भएको उपाध्यक्ष गौतमसम्बन्धि रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई गरिएको थियो । उक्त दिनपनि सुनुवाई नसकिएपछि आजको लागि सरेको थियो ।
सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्यमा नियुक्त गरेपछि त्यसबिरुद्ध अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले गौतमको पद यथास्थितिमा राख्न र थप संबैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।