Logo
१२ श्रावण २०८१, शनिबार
(October 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ अर्ब ३५ करोड ऋण खोजेर ठूला परियोजना अघि बढाइदै

८ अर्ब ३५ करोड ऋण खोजेर पूर्वाधार आयोजना अघि बढाउने तयारी थालिएको छ ।

नेपाल इन्फास्ट्रक्चर बैंकले हालसम्म आधा दर्जन ठूला पूर्वाधार आयोजनामा ऋण लगानी सम्झौता गरेको हो । बैंकले जलविद्युत, सिमेन्ट र होटलमा सहवित्तीयकरण मार्फत ८ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको हो ।

बैंकले जलविद्युत, होटल र सोलार परियोजनामा लगानी सम्झौता गरेको डेपुटी सीईओ भुपेन्द्र पाण्डेले बताए । उनले थप आयोजनाहरूमा लगानीको तयारी भइरहेको जानकारी दिए ।

हालसम्म बैंकले सहवित्तीयकरणमा सीजी सिमेन्ट प्रालिमा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता गरेको छ । यस्तै २२ मेगावाटको सेतीखोला आयोजना बनाउन १ अर्ब २५ करोड रुपैयाँ सहवित्तीयकरणमा लगानी गर्ने भएको छ । यो आयोजनामा लगानीको नेतृत्व कुमारी बैंकले गरेको छ ।

३२ मेगावाटको करुवामा नेतृत्व गरेको बैंकले १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेको छ । यसैगरी ४९ मेगावाटको मिडिल मिडिल मेवामा १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरेको छ । आयोजनामा हिमालयन बैंकको अगुवाइमा नेपाल इन्फास्ट्रक्चरले ऋण लगानी सम्झौता गरेको छ ।

बैंकले सोलार परियोजनामा १ अर्ब र एउटा पाँचतारे होटलमा ४५ करोड रुपैयाँ लगानी स्वीकृति भइ सम्झौताको तयारीमा रहेको डीसीओ पाण्डेले बताए । थप लगानी जुटाउन बैंकले विदेशबाट थप ३ अर्ब रुपैयाँ लगानी ल्याउनका लागि नेपाल राष्ट्र बैंकमा अनुमति मागेको छ । केन्द्रीय बैंकले हालसम्म स्वीकृति दिएको छैन ।

मुलुकमा जलविद्युत, सडक, केवलकारलगायत अन्य पूर्वाधारमा लगानी गर्न बैंक स्थापना भएको हो । ऋण सम्झौता भए पनि लगानी भइसकेको छैन । क्रमशः ऋण लगानी हुँदै जाने बैंकले जानकारी दिएको छ । यस्तै बैंकसँग १२ अर्ब रुपैयाँ छ । यस्तै नाफा र सञ्चित कोषको रकमसमेत गरी १४ अर्ब रुपैयाँ पुँजी पुगेको छ ।

यस्तै बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । आईपीओ निष्कासनपछि बैंकको स्रोत परिचालन बढेर २२ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकले लगानी बढाउन विदेशी रणनीतिक साझेदार पनि ल्याउन पहल थालेको छ । हाल एसियाली विकास बैंक (एडीबी) विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) लगायत आधा दर्जन विदेशी वित्तीय संस्थासँग छलफल भइरहेको बैंकले जनाएको छ । बैंक सञ्चालनमा आएको दुई वर्ष भइसकेको छ ।

प्रकाशित मिति: Oct 5, 2020

प्रतिक्रिया दिनुहोस्