Logo
११ बैशाख २०८१, मंगलबार
(September 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाका समयमा मिटर रिडिङ नभएका ग्राहकलाई जरिवाना नलिन विद्युत प्राधिकरणलाई निर्देशन

कोरोना भाइरस (कोभिड–१९) प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई जरिवाना नलिन निर्देशन दिइएको छ।

ऊर्जा, जलस्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मंगलबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन। कतिपय ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिएका हुन्।

मन्त्री पुनले यसअघि जरिवाना लिइएको भए उक्त रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिएका छन्।
‘जरिवाना लिएको त्यो अब बुझाउने शुल्कमा मिलान गर्नुस् र जरिवाना नलिने व्यवस्था मिलाउनुस्’, मन्त्री पुनले भने।

मन्त्री पुनले यो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैंलाई मिटरको नम्बर टिपाएर शुल्क लिन पनि आग्रह गरेका छन्।

आफूले मन्त्रालयबाट कार्यालय फर्केलगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको र सार्वजनिक सूचना समेत जारी गर्न लागिएको निमित्त कार्यकारी निर्देशक कोइरालाले बताएका छन्।

मन्त्री पुनले खराब मौसम, प्रणालीको खराबी वा अरु प्राविधिक कारणले विद्युत अनियमित भए तत्काल समस्या समाधान गर्न समेत निर्देशन दिएका छन्।

त्यसका लागि ‘इमिडेट रेस्पोन्स टोली’ बनाउन उनको सुझाव छ। लकडाउनयता ९० लाख विद्यार्थी घरमै बसेर अनलाइन कक्षा लिइरहेको भन्दै मन्त्री पुनले विद्युत नियमित नभए उनीहरूको पढाइ प्रभावित हुने बताएका छन्।

प्राधिकरणको मूल नेतृत्व नभएको समयमा वितरण प्रणालीमा कुनै कमजोरी आउन नदिन मन्त्री पुनले निर्देशन दिए।

‘वितरण प्रणालीमा सानोभन्दा सानो गडबडी नआओस्,’उनले भने ‘यदि समस्या आएको अवस्थामा तत्काल समाधान होस्।’

गत साता मौसमका कारण उपत्यकासहित मुलुकका विभिन्न स्थानमा विद्युत सेवा आंशिक प्रभावित भएको थियो।

यस्तै, गरी मन्त्री पुनले लकडाउन अवधिमा सरकारले ग्राहस्थ र औद्योगिक ग्राहकलाई दिने भनेको छुट तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।

प्रकाशित मिति: Sep 29, 2020

प्रतिक्रिया दिनुहोस्