Logo
१२ श्रावण २०८१, शनिबार
(September 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्मचरीको विरोधपछि हिमालयलाई दिइएको ‘सेल्फ ग्राउण्ड ह्याण्डिलिङ’को निर्णय रोकियो

हिमालय एयरलाइन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति तत्काल कार्यान्वयनमा नआउने भएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यो निर्णय तत्काल नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिइएको समाचार सार्वजनिक भए लगत्तै नेपाल वायुसेवा निगमका कर्मचारीले विरोध जनाएका थिए । नेपाल एयरलाइन्सको आम्दानीको मुख्य स्रोत नै भूमिस्थ सेवा भएको तर नियोजित रुपमा पाखा लगाउने काम भएको भन्दै कर्मचारीहरुले विरोध गरेका थिए ।

प्राधिकरणको उक्त निर्णयपछि मन्त्री भट्टराईले आइतबार प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

“ग्राउन्ड ह्याण्डलिङको क्षेत्राधिकार नागरिक उड्डयन प्राधिकरणकै हो । मन्त्रीसम्म त्यो आइपुग्दैन । उनीहरूले आफ्नो निर्देशिका, कानुन अधिनस्थ रहेर कार्यसम्पादन गर्छन्,” मन्त्री भट्टराईले भने, “निर्णय भएपछि मात्रै हामीकहाँ जानकारीमा आएको हो । थाहा पाएपछि मैले तत्काल प्राधिकरणका महानिर्देशकलाई बोलाएर जानकारी माग्ने काम भएको छ ।”

प्राधिकरण महानिर्देशक पोखरेलले भने प्राधिकरणको निर्णय नियमसंगत नै भएको बताएका थिए । “नियमविपरीत काम भएको छैन भनेर महानिर्देशकले भन्नुभयो । नियमतः हप्तामा ३५ फ्लाइट उडान भर्ने एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङ गर्न सक्छन् । निर्देशिकामा पनि त्यही उल्लेख छ, त्यही आधारमा भएको भनेर जानकारी गराउनुभयो” उनले भने ।

बाहिर निकै चर्चा एवं टिका–टिप्पणी भइरहेकाले आफूले अहिले यो निर्णयलाई यथास्थितिमा राख्‍न भनेको मन्त्री भट्टराईले बताए । “पछि प्रस्ताव हेरेर, निर्णय गर्नुपर्ने-नपर्ने हेरौंला भनेको छु । अहिलेचाहीँ अरु निर्णय नगर्ने, यथास्थितिमा राख्‍न भनेको छु” मन्त्री भट्टराइले भने । पछि बुझेर मात्रै निर्णय गरिने उनले बताए ।

ग्राउण्ड ह्याण्डलिङको सुविधा यसअघि थाइ एयरवेज र एयर इण्डियाले भने यसअघि नै पाइसकेका छन् ।

प्रकाशित मिति: Sep 27, 2020

प्रतिक्रिया दिनुहोस्