Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवादित पुल निर्माण कार्य सुरु गरिएपछि बारा र रौतहटको सीमा क्षेत्रमा झडप

प्रदेश नं २ स्थित बारा र रौतहटको सीमा क्षेत्रमा विवादित पुल निर्माण कार्य सुरु गरिएपछि दुई जिल्लाका स्थानीय विच झडप भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप भएको हो ।

अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गर्दै आएको स्थानीय नुर आलम बताउँछन् ।

तर रौतहटतर्फका बासिन्दाले भने पुल तोकिएकै स्थानमा बन्नुपर्ने अडान राख्दै आएका छन् ।समस्या समाधान नै नगरी सोमबार पुल निर्माण कार्य सुरु गरिएपछि विवाद भएको थियो ।

झडपमा दुबै तर्फका केही स्थानीय घाइते भएका छन् । झडपको क्रममा टाउको हात, खुट्टामा चोट लागेका घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधिन अवस्थामा छ । विवादकै कारण पुल निर्माणले गति लिन सकेको छैन ।

विवादले उग्ररुप लिँदा दुबैतिरका स्थानीय बासिन्दा एक अर्कामाथि जाइलागेका थिए । हातमा लाठी भाटा लिएर पुल निर्माण स्थलमा पुगेका स्थानीयले पुल निर्माणका लागि सिमेन्ट घोल्ने मिक्सर समेत जलाइदिएका थिए ।

मिक्सरमा सामान्य क्षति पुगेको छ ।दुई गाउँबीच झडप भएको जानकारी पाएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली पुगेको थियो ।

अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

‘पुलको विषयमा विवाद भएर दुई गाउँका बासिन्दाबीच झडप भएछ, प्रहरी टोली गएर उताकालाई उतै यताकालाई यतै पठाएका छौं,’ उनले भने, ‘अहिले स्थिति नियन्त्रणमा छ ।’

प्रहरी नायब उपरीक्षक मिश्रले समस्या समाधानका लागि असोज ९ गते दुवै गाउँका बासिन्दबीच छलफल गर्ने सहमति समेत भएको जानकारी दिए ।

प्रकाशित मिति: Sep 22, 2020

प्रतिक्रिया दिनुहोस्