Logo
२३ बैशाख २०८१, आईतबार
(September 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिन सरकारको अनुमति

अब निजी विद्यालयहरूले अनलाइन कक्षाको शुल्क लिने पाउने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् ।

विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो ।

निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क प्रचलित कानुनको अधीनमा रही स्थानीय तहले स्वीकृत गरे बमोजिम हुनेछ ।’

यसअघि शिक्षा मन्त्रालयले अनलाइन वा अन्य माध्यमको कुनै पनि दूरशिक्षाको नाममा शुल्क लिन नपाउने निर्णय गरेको थियो ।

मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार असार १ गतेदेखि विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

कोरोनाका कारण विद्यालय तहमा मात्रै ९० लाख भन्दा बढी विद्यार्थीको पढाई प्रभावित भएको छ । टिच फर नेपालले गरेको एक सर्वेक्षण अनुसार ९६ प्रतिशत भन्दा बढी विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् ।

एकाध सामुदायिक विद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गरेका छन् । तर निजी विद्यालयकै पनि सबै विद्यार्थी अनलाइन कक्षाको पहुँचमा नभएको सञ्चालकहरू बताउँछन् ।

निजी विद्यालयको पनि ५० प्रतिशत भन्दा कम उपस्थिति रहेको उनीहरूको भनाइ छ ।

वेभसाइट, रेडियो, टेलिभिजनमार्फत गरिएको दुरशिक्षा पढाई पनि अपेक्षाकृत कम प्रभावकारी रहेको शिक्षाविद्हरू बताउँछन् ।

शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, ‘शैक्षिक सत्र खेर नजाने गरी सबै विद्यार्थीलाई वैकल्पिक शिक्षाको पहुँचमा ल्याउन तत्काल पहल गर्नुपर्दछ ।’

सरकारले नोवेल कोरोना भाइरसका कारण कम्तिमा आगामी असोज १ गते भन्दा पहिला विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: Sep 10, 2020

प्रतिक्रिया दिनुहोस्