Logo
१३ बैशाख २०८१, बिहीबार
(September 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकैदिन पोखरिया पर्सामा २ विवाहित महिलाले गरिन् आत्महत्या

प्रदेश २ स्थित गएराति पर्सामा दुई जना विवाहित महिलाले झुण्डिएर आत्महत्या गरेका छन् । पर्साको पोखरिया नगरपालिका वडा ९ र १० का दुई महिलाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

वडा ९ सेमरवारीमा बस्ने श्याम किशोरप्रसाद तुरहाकी पत्नी २५ वर्षीया पूजा देवी र सोही पालिकाको वडा १० मा बस्ने निरन्जन पटेलकी पत्नी ३५ वर्षीया विद्यान्ती देवीले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

पूजा देवीले छतको सिलिंंगमा कपडाको पासो लगाएर तथा विद्यान्ती देवीले घरको बाँसमा कपडाको पासो लगाएका थिए । आत्महत्याको कारण पुष्टि भएको छैन ।

आत्महत्याजस्तै देखिएको भए पनि थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ । दुवैले आत्महत्या गरेको घटनाको खबर प्रहरीले मंगलबार बिहान आधा घण्टाको फरकमा पाएको थियो ।

वडा नम्बर ९ र वडा नम्बर १० दुईवटै घटना घरायसी झगडा रहेकाले थप अनुुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर सिंहको भनाइ छ ।

इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी पोखरियाको टोली पुगेर मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ ।

यता पूजा देवीको माइतीपक्षले अनुसन्धान गर्न माग गरेको छ । पटेर्वा सुगौली गाउँपालिका २ रंगपुर टाडीका माइतीले पूजाको हत्या गरिएको आशंका गर्दै अनुसन्धान माग गरेको हो ।

माइती पक्षका अनुसार पूजालाई ससुराले घरमा सधैं यातना दिने गरेको थियो । आत्महत्या गरेको नभई हत्या भएको भन्दै माइती पक्षले घटनाको वास्तविकता अनुसन्धान गर्न माग गरेको छ ।

प्रकाशित मिति: Sep 8, 2020

प्रतिक्रिया दिनुहोस्