Logo
६ जेष्ठ २०८१, आईतबार
(September 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मल किन्न सहकारीमै ओच्छ्यान : बढ्दो संक्रमणबीच किसानहरुको यो दृश्यले सरकारलाई गिज्याउँदै

माथि देखाइएको तस्विर बागमती प्रदेश अन्तरगत पर्ने चितवनको हो । भरतपुर महानगरपालिका वडा नं. ५ को नवचन्द्रमा कृषि सहकारी संस्थाले सोमबार मल बाँड्ने पुर्व जानकारी अनुसार एकाएक किसानहरु जम्मा भए ।

त्यस्तो त उक्त चर्चा भने एक साता अघि नै चलेको थियो । अवस्था यतो देखिएको की मल किन्न किसानहरु सहकारीमै ओच्छ्यानसम्म लगाएका देखिए ।

स्थानीय किसानहरु आइतबार साँझ खाना खाएर सहकारीमै सुत्न म्याट बोकेर हिँडेका देखिएका छन् । कोरोना भाइरसको बढ्दो संक्रमणको समेत बेवास्ता गर्दै किसानहरु मलका लागि उभिएको दृश्यले सरकारलाई गिज्याइरहेको छ ।

विभिन्न सहकारी अगाडि हिजोआज यस्तै ठूल्ठूला भिडहरु देख्न पाइन्छ । भरतपुर वडा नं. ५ मा कोरोना संक्रमितसमेत भेटिएकाले सहकारी यसअघि एक साता बन्द गरेर खोलिएको सहकारीका अध्यक्ष कृष्ण चापागाईले बताए ।

आइतबार रातिदेखि मल लिन सहकारीमा लाइन लागेका किसानमध्ये सहकारीका शेयर सदस्य २२५ जनाले १० केजी र सहकारी बाहिरका १५० जना किसानले ५ केजीका दरले मल पाएका छन् ।

लाइनमा बसेका झण्डै ५ सय किसान भने रित्तै हात घर फर्किएका छन् । सहकारीका अध्यक्ष चापागाईले मल उपलब्ध गराउने निकायले पक्षपातपूर्ण व्यवहार गरेको बताए ।

उता कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल किसानले मल समयमा र भनेजति नपाएको सत्य भए पनि पहुँच भएकालाई बढी दिएको भन्ने आरोप गलत भएको बताउँछन् ।

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख ढकालले मल बाँड्दा भौतिक दूरी कायम गरेर मात्रै बाँड्न सहकारीहरुलाई स्पष्ट निर्देशन दिइएको भए पनि त्यसको पालना नगरेको पाइएको बताए ।

उनले किसानलाई पोका-पोका बनाएर मल दिन सहकारीहरुलाई निर्देशन दिइएको बताए । चितवन जिल्लामा २७ हजार चार सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ ।

यतिबेला किसानका खेतमा धान पोटाउने बेला भएको छ । अबको १५ दिनमा धान निस्कन्छन् । त्यो भन्दा अगाडि नै मल हाल्न सके उत्पादन राम्रो हुने थियो भन्ने आशा किसानको छ ।

तर, मल पाउन भने कोरोनाको डर लिएर महाभारत नै लड्नुपर्ने जस्तो अवस्था यहाँ छ । जिल्लामा साउनयता ४२६ मेट्रिक टन युरिया मल वितरण भएको छ ।

चितवनमा प्रत्येक वर्ष १५ हजार मेट्रिक टन मल आवश्यक पर्छ । माग हरेक बर्ष बढ्दै गएको छ । धानको सिजनमा जिल्लामा २१ सय मेट्रिक टन युरिया आवश्यक हुन्छ ।

जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले मल बाँड्दै आएका छन् । अघिल्लो बर्ष युरिया बाँडेको कृषि सामाग्री कम्पनी लिमिटेडमा यस बर्ष मल आएको छैन ।

मल आउने सम्भावना पनि निकै कम रहेको कृषि सामाग्री कम्पनी लिमिटेडका प्रमुख रविन्द्र गौतमले बताए ।

प्रकाशित मिति: Sep 7, 2020

प्रतिक्रिया दिनुहोस्