Logo
२ जेष्ठ २०८१, बुधबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योगी व्यवसायीहरुलाई बालुवाटारमै डाकेर प्रधानमन्त्रीले भने-‘खतिवडालाई नै विशेष जिम्मेवारी हुनेछ’

प्रधानमन्त्री केपि शर्मा ओलीले निवर्तमान अर्थमन्त्री युवराज खतिवडा मन्त्रीका रुपमा नहरे पनि कुनै न कुनै रुपमा अर्थतन्त्रलाई सघाउने भूमिकामा रहने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको पर्सिपल्ट बालुवाटारमा उद्योगी व्यवसायीहरुलाई डाकेर उक्त कुरा बताएका हुन् ।

आइतबार साँझ प्रधानमन्त्रीले बोलाएको भेलामा राजीनामा दिइसकेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडासमेत उपस्थित थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘निजी क्षेत्रका समस्या प्रधानमन्त्रीज्यूले सुन्नुभयो, वहाँले उद्योग व्यवसायमा समस्या पर्न नदिने बताउनुभएको छ ।’

उनका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निजी क्षेत्र र सरकार एक भएर अघि बढ्नुपर्ने बताए ।

उनले सबैको सहयोग बिना चाँडै कोरोना अन्त्य गर्न नसकिने भन्दै यसका लागि सबैको सहयोग आवश्यक पर्ने बताए ।

प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा फस्न नदिने बताए । उनले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएउँदै कोभिड र उद्योगमा देखिएका समस्याहरु सँगै समाधान गर्दै अघि बढ्नुपर्ने भनाइ राखेका थिए ।

आइतबार प्रधानमन्त्रीले डाकेको उद्योगीहरुसँगको छलफलमा भर्खरै अर्थ मन्त्रालय छाडेका डा. खतिवडासहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र राष्ट्र बैंकका गर्भर महाप्रसाद अधिकारीसमेत उपस्थित थिए ।

५ः३० बजे बस्ने भनिएको छलफल आधाघण्टा ढिलो शुरु भएको थियो । बैठकमा केही मन्त्रीहरुसमेत सहभागी थिए ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्