Logo
१५ चैत्र २०८०, बिहीबार
(September 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सशस्त्र प्रहरीले भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै

कोभिड-१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश-२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ ।

भारतीय सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलापको निगरानीमा थप जनशक्ति बढाउन आवश्यक भएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) थपिन लागेको हो ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश-२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको हो ।

प्र्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ ।

प्रदेशका आठ जिल्लाका सीमाक्षेत्रमा तीन चरणमा ७३ बिओपी थप्ने योजनाअन्तर्गत अहिले तत्काल पहिलो चरणमा १२ वटा सञ्चालनमा ल्याइहालिने सशस्त्र प्रहरी बलका प्रदेश-२ प्रमुख (बाहिनीपति) तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले स्पष्ट पारे ।

यसक्रममा केही नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । त्यसपछि क्रमशः दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ बिओपी स्थापना गरिने छ ।

सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा तीनहजार ५०० जनशक्ति परिचालित छन् ।अहिले कोभिड–१९ सङ्क्रमणको सन्त्रास छाएका बेला सीमाक्षेत्रमा हुने दोहोरो आवागमन रोक्न, सीमाक्षेत्रमा हुँदै आएका अवाञ्छित क्रियाकलाप निरुत्साहित गर्न र सीमा सुरक्षामा थप जनशक्ति बढाउन बिओपी थपिन लागेको बाहिनी कार्यालयले स्पष्ट पारेको छ ।

कोभिड-१९ सङ्क्रमण शुरु भएदेखि सशस्त्र प्रहरीले प्रदेश-२ का नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ (एफओबी) समेत स्थापना गरेको छ ।

अवैधरूपमा भारतबाट भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टिन केन्द्रमा पठाउने काम एफओबीले गर्दै आएको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

कोभिड-१९ सङ्क्रमण रोकथामका लागि प्रदेशभित्र सशस्त्र प्रहरीले २० ठाउँमा ५५१ शय्याका क्वारेन्टिन केन्द्र सञ्चालनमा ल्याएको छ ।

प्रदेशभित्र सञ्चालनका लागि आठवटा ‘ड्रोन’ तयार अवस्थामा राखिएका छन् । सशस्त्र प्रहरीले प्रदेशका आठ जिल्लाका भारतसँग सीमा जोडिएका स्थानीयतहका १३३ वडामा सम्बन्धित वडाअध्यक्षको नेतृत्वमा गठित सीमा निगरानी समितिसँग समन्वय गरेर ‘सीमा सुरक्षामा जनता र सशस्त्र प्रहरी साथसाथ छन्’ भन्ने सन्देश प्रवाह गरेको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ ।

सशस्त्र प्रहरीका सीमा प्रहरी पोष्टले आर्थिक वर्ष २०७७/०७८ शुरु भएयताका साउनदेखि हालसम्मको अवधिमा अवैध तरिकाले सीमा वारपार गरिन लागिएका करिब छ करोड मूल्यका समान बरामद गरी सम्बन्धित भन्सार कार्यालयहरुलाई बुझाएको छ ।

यसैगरी आपराधिक क्रियाकलापमा भेटिएका २४ जनालाई नियन्त्रणमा लिई कारवाहीका लागि सम्बन्धित नेपाल प्रहरीका कार्यालयमा बुझाइएको बाहिनी कार्यालयले जनाएको छ ।

यस अवधिमै स्रोत नखुलेको  २७ लाख ९५ हजार ७३० नगद र वनक्षेत्रमा हुने अवैध चोरी कटानका नौ लाख मूल्यका काठ बरामद गरी सम्बन्धित वन कार्यालयलाई बुझाइएको बाहिनी कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलले थप पोष्ट र जनशक्ति बढाएसँगै सीमाक्षेत्रबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा सुधार हुने सीमाक्षेत्रका सर्वसाधारणले आस सङालेका छन् ।

प्रकाशित मिति: Sep 6, 2020

प्रतिक्रिया दिनुहोस्