प्रदेश २ : सप्तरीमा १ हप्ता थपियो निषेधाज्ञा, धनुषा र महोत्तरीमा ४२ जना कोरोना संक्रमित थपिए
प्रदेश २ स्थित जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञाको समय फेरि एक हप्ता थप गरेको छ । सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय ६ पुगेको छ ।
यसअघि जारी गरिएको निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै छ । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि जिप्रका सप्तरीले पहिलो पटक गएको साउन ८ गते रातिदेखि निषेधाज्ञा जारी गरेको थियो ।
पहिलो चरणमा राजविराज नगरपालिका क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन २३ गतेदेखि जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको थियो ।
त्यसपछि तेस्रो चरणमा भदौ २ देखि भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको समय थपिएको थियो । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि चौथो पटक भदौ २३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा कोभिड १९ जिल्ला सङ्कट व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा तीन घण्टा लामो छलफलपछि निषेधाज्ञा थप्ने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
यस अवधिमा अत्यावश्यक सामग्रीका पसल बिहान १० बजेसम्म खोल्न दिइनेछ ।
यसैबीच, धनुषामा मंगलबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको स्वाब परीक्षणमा आएको रिपोर्टमा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार जनकपुरधाम वडा नम्बर ४, ७, ८ लगायतका २३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, धनुषाको मिथिला नगरपालिका-७ का दुईजना, औरही गाउँपालिकाका एकजना, धनौजी गाउँपालिकाका एकजना, नगराइन नगरपालिकाका दुईजना र पौडेश्वरको एकजनामा संक्रमण पुष्टि भएको झाले बताए ।
यसैगरी जनकपुरस्थित नेपाल बैंक लिमिटेडका एकजनामा समेत संक्रमण पुष्टि भएको छ । योसँगै धनुषामा कोरोना संक्रमितको संख्या १ हजार ५७८ पुगेको छ भने हालसम्म १२ जनाको मृत्यु भएको छ ।
उता महोत्तरीको मनरा सिसबा नगरपालिकाका ५ जना, पिपरा गाउँपालिकाका २ जना, सम्सीका एक जना, रामगोपालपुरका एक जना, बर्दिवास नगरपालिकाका एक जना, लोहारपट्टी नगरपालिकाका १ जना गरी जम्मा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सर्लाहीको लालबन्दी नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।