Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परिक्षण गर्ने

टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पिसिआर परीक्षण गर्ने भएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र भागमा खटिएर काम गर्ने प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परिक्षण गर्न लागेको हो ।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले बढी भीडभाड हुने खाद्यान्न, तरकारी, फलफूल, दुग्धजन्य पसल, माछामासु, फोहोरमैला सङ्कलनमा संलग्न व्यक्ति र कोभिड-१९ को लक्षण देखिएका व्यक्तिको पिसीआर परीक्षण गर्न लागेको जानकारी दिए ।

परीक्षणका लागि प्रत्येक वडामा विवरण सङ्कलन गर्न आग्रह समेत गरिएको छ । टोखा नगरपालिकाभित्र ११ वडा रहेका छन् ।

टोखाले हालसम्म एक हजार ४४७ जनाको पिसीआर परीक्षण गरिसकेको छ जसमध्ये १२० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये ५० जना निको भएर घर फर्किसकेका छन् । यस्तै दुई जना सम्पर्कविहिन छन् भने दुईजनाको मृत्यु भइसकेको र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रवक्ता बस्यालले बताए ।

यही भदौ ७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अगाडि ८३ जनाको पिसीआर परिक्षण गरेकोमा ५५ जनाको नेगेटिभ, नौजनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

उक्त रिपोर्टसँगै सङ्क्रमितको सङ्ख्या १२० पुगेको हो । उपत्यका नगरपालिका फोरमको सोमबार बसेको बैठकले उपत्यकाभित्रका स्थानीय तहमा कन्ट्याक ट्रेसिङ र पिसीआर परिक्षणलाई तीव्रता दिने निर्णय गरेअनुसार टोखामा पनि सो परीक्षणलाई तीव्रता दिन लागिएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए  ।

काठमाडौँ उपत्यकाभित्र १८ स्थानीय तह रहेका छन् ।उपत्यका नगरपालिका फोरमको तथ्याङ्कअनुसार काठमाडौँ उपत्यकामा दुई हजार ७४६ सङ्क्रमित छन् ।

उक्त फोरमले भदौ १५ सम्म उपत्यकामा १५ हजारभन्दा बढीको पिसिआर परीक्षण गर्ने जनाएको छ ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्