Logo
२४ बैशाख २०८१, सोमबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय कांग्रेसमा किचलो : भाजपासँग साँठगाँठको आरोप

कुनैबेला भारत भनेकै भारतीय नेशनल कांग्रेसभित्रको किचलो बाहिरिएको छ । यतिबेला भारतीय नेशनल कांग्रेसको महत्वपूर्ण बैठक नयाँ दिल्लीमा जारी छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार पार्टी नेतृत्वका सम्बन्धमा महत्वपूर्ण निर्णय गर्ने ठानिएको बैठक सुरु भएसँगै कांग्रेसको कलह सतहमा आएको छ ।

राहुल गान्धीले बैठकमा पार्टीमा सुधारका लागि सोनिया गान्धीलाई पत्र लेख्ने नेताहरुले भारतीय जनता पार्टी (भाजपा) सँग साँठगाँठ गरेको आरोप लगाएको दाबी गरेका छन् ।

राहुल गान्धीले गरेको भनिएको सो टिप्पणी लगत्तै कांग्रेसका वरिष्ठ नेता कपिल सिब्बलले ट्वीट मार्फत गम्भीर आपत्ति जनाए । तर पछि उनले आफूलाई राहुल गान्धीले व्यक्तिगत रुपमा नै आफूले त्यस्तो कुनै टिप्पणी नगरेको जानकारी दिएको भन्दै उनले ट्वीट फिर्ता लिएको जानकारी सहित ट्वीट गरेका छन् ।

सुरुमा नेता सिब्बलले ट्वीटमा लेखेका थिए, ‘राहुल गान्धी भन्नु हुन्छ कि हामीले भाजपासँग साँठगाँठ गरेका छौँ । राजस्थान उच्च अदालतमा कांग्रेसलाई सफलता पूर्वक बचाउ गरियो ।

मणिपुरमा भाजपाको सरकार हटाउनका लागि पार्टीलाई बचाइयो । पछिल्लो ३० वर्षमा कहिल्यै पनि कुनै मुद्दामा भाजपाको पक्षमा बोलिएन । तर पनि हाम्रो साँठगाँठ भाजपासँग छ ।’

कांग्रेसको वर्किङ्ग कमिटिको बैठकमा सोनिया गान्धीले कार्यकारी अध्यक्षबाट राजीनामा दिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कांग्रेसमा नेतृत्वलाई लिएर नेताहरु विभाजित छन् । एक पक्षले सामूहिक नेतृत्वको माग गरिरहेका छन् भने अर्को पक्षले नेहरु–गान्धी परिवारमा आफ्नो विश्वास रहेको बताइरहेका छन् ।

समाचार संस्था पीटीआईका अनुसार सोनिया गान्धी यो बैठकमा आफ्नो राजीनामा पेश गर्ने छिन् । कांग्रेसका झण्डै २० नेताले उनलाई पूर्णकालीन अध्यक्ष बन्न माग गरी पत्र लेखेका छन् ।

पत्रमा त्यसबाहेक पार्टी भित्र तलदेखि माथिसम्म विभिन्न किसिमको परिवर्तनको माग गरिएको छ ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्