Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टोखा नगरपालिकाले अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने

टोखा नगरपालिकाले कोरोना नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ ।

नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोरोना नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई खाइपाई आएको तलब स्केलमा आइसोलेसन सेन्टर सञ्चालन भएको मितिदेखि भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले कोरोना नियन्त्रणमा प्रत्यक्ष खटिने एम्बुलेन्स चालक, सुरक्षाकर्मी, कार्यालय सहयोगी र स्वीपरलाई तलब तथा दैनिक हाजिरीका आधारमा १०० प्रतिशत भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

उक्त भत्ता नगरपालिकाको स्वास्थ्य शाखाको सिफारिसका आधारमा उपलब्ध गराइने नगर प्रवक्ता बस्यालले बताए ।

यस्तै बैठकले कोभिड-१९ नियन्त्रणमा अप्रत्यक्ष खटिने अन्य सवारी चालक र स्वास्थ्य शाखाका कर्मचारीलाई ४० प्रतिशत र नियमित सेवा प्रवाह गर्ने अन्य स्वास्थ्यकर्मीलाई २५ प्रतिशत भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलनमा खटिएका स्वास्थ्यकर्मीलाई असारदेखि भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । एउटै व्यक्तिले दोहोरो भत्ता लिन नपाइने व्यवस्थासमेत टोखाले गरेको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितका लागि खाना तथा खाजा खर्चको रकम नगर उपप्रमुखको संयोजकत्वमा रहेको समितिले निर्णय गरी सिफारिस गरेबमोजिम उपलब्ध गराइने जानकारी दिए ।

यस्तै टोखा-२ मा रहेको सार्वजनिक जग्गामा आइसोलेसन सेन्टर स्थापनाका लागि स्रोत, साधन, आवश्यकता र औचित्यताका आधारमा अध्ययन गरी प्रतिवेदन पेश गर्न नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएको नगरप्रमुख अधिकारीले बताए ।

बैठकले ६० औँ बैठकमा प्रत्येक वडा कार्यालयबाट खटिएका बढीमा १५ स्वयंसेवकलाई वडा कार्यालयको सिफारिसका आधारमा राष्ट्रिय बीमा कम्पनीमार्फत कोरोना बीमा प्रक्रिया अगाडि बढाइने निर्णय भए पनि ६१ औँ बैठकले २० जनासम्मको कोरोना बीमा गर्ने निर्णय गरेको छ ।

कार्यपालिकाको बैठकले नगरपालिका अन्तर्गत वडाध्यक्षले बुझिलिएका मोटरसाइकल र स्कुटर वडा कार्यालयका नाममा हस्तान्तरण गर्ने तथा नगरपालिकालाई आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धित उपकरण खरिदका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

टोखा-२ चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन वाग्मती प्रदेश सरकारलाई सिफारिस गरिने भएको छ ।

नगरपालिकाभित्रका खाद्यान्न, तरकारी तथा फलफूल, दुग्धजन्य तथा मासुजन्य पसल बिहान ५ देखि ८ बजेसम्म खोल्न दिँदै आइएकामा आगामी दिनदेखि ५ बजेदेखि ९.१५ बजेसम्म खोल्न दिने बैठकले निर्णय गरेको छ ।

नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै शनिबार मात्र १७ शय्याको ‘आइसोलेसन सेन्टर’ स्थापना गरी सञ्चालनमा ल्याइसकिएको छ ।

टोखामा अहिलेसम्म ९२ जनामा कोरोना सङ्क्रमण देखिइसकेको छ । तीमध्ये ६३ जना सक्रिय सङ्क्रमित छन् ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्