Logo
१ जेष्ठ २०८१, मंगलबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब जलविद्युत् कम्पनी पनि गाभिन पाउने, नियमन आयोगद्वारा निर्देशिका जारी

अब जलविद्युत् कम्पनीहरु पनि गाभिन पाउने भएका छन् ।

यो व्यवस्थाले बैंक तथा वित्तीय संस्था आपसमा गाभिन वा प्राप्त गर्न सकिएजस्तै जलविद्युत् तथा ऊर्जा कम्पनी पनि आपसमा गाभिन वा प्राप्त गर्न पाउनेछन् ।

विद्युत् नियमन आयोगले अनुमतिपत्र प्राप्त व्यक्ति वा आपसमा वा अन्य संगठित संस्थासँग गाभिन, आपसमा मिल्न, सेयर खरिद, संरचनाको खरिद बिक्री वा हस्तान्तरण, प्राप्ति वा ग्रहणसम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ ।

यो व्यवस्था तत्काल लागु हुने आयोगले जनाएको छ ।आयोगको भदौ १ गतेको बैठकले यो निर्देशिका पारित गरेर जारी गरेको जनाएको छ ।

निर्देशिकाले विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारसम्बन्धी कार्य गर्न, अनुमति प्राप्त व्यक्ति आपसमा वा अन्य संगठिन संस्थासँग सम्झौता वा समझदारी गरेर मिल्न सक्ने प्रबन्ध राखेको छ ।

अनुमतिप्राप्त व्यक्तिको स्वमामित्वमा रहेको विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारसँग सम्बन्धित भौतिक पूर्वाधार र आयोजना आपसमा गाभिएर नयाँ संस्था बनाउन सकिने व्यवस्था यो निर्देशिकाले गराएको छ ।

त्यसका लागि संस्था एक आपसमा गाभिनुको कारण, सम्पत्तिको दायित्व एवं मूल्यांकनसम्बन्धी व्यवस्था, सञ्चालक समिति, सञ्चालन तथा कर्मचारी व्यवस्थापन, विद्युत् उत्पादन, प्रसारण, वितरण, व्यापारलगायत विषयमा विस्तृत योजना पेस गर्नु पर्नेछ ।

निर्देशिकामा अनुमतिपत्र प्राप्त व्यक्तिले एकपटक अर्कोलाई बिक्री गरेको वा मर्जर वा हक हस्तान्तरण गरेको ३ वर्षसम्म अर्कोलाई बेच्‍न नपाइने व्यवस्था गरिए पनि समय सीमा भने हटाइएको छ ।

सबै प्रक्रिया पूरा गरेकालाई आयोगले ९० दिनभित्र गाभिन वा मिल्नका लागि स्वीकृति दिने व्यवस्था निर्देशिकामा गरिएको छ ।

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्