कोरोनाबाट पोखरामा तनहुँकी ५० वर्षीया महिलाको मृत्यु
कोरोनाबाट पोखराको सेवा अस्पतालमा उपचाररत तनहुँकी ५० वर्षीया महिलाको मृत्यु भएको छ ।
तनहुँ ब्यास-१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो ।ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।
डा. खड्काले भने, ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’
अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पुर्याएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीयामा कोरोना संक्रमण भएको बताएको थियो ।
तिनैमध्येकी ५० वर्षीया महिलाको मृत्यु भएको हुन सक्ने भएकाले थप जानकारीका लागि अस्पताल गइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।
शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।