Logo
१२ श्रावण २०८१, शनिबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत अनुगमन संयन्त्रको बैठकमा के-के भयो ? (पूर्ण विवरणसहित)

नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको बैठक सोमबार भिडियो कन्फ्रेसिङ्ग मार्फत सम्पन्न भएको छ ।

बैठकमा भारतको सहयोग वा सहकार्यमा सञ्चालन भएका परियोजनाहरुको कार्य प्रगति सम्बन्धमा छलफल भएको हाे ।

सन् २०१९ को जुलाई ७ र ८ मा भएको सातौँ बैठकपछि द्विपक्षीय आर्थिक तथा विकास सहकार्यका परियोजनामा भएको कार्य प्रगतिबारे समीक्षा भएको बैठकपछि जारी वक्तव्यमा उल्लेख छ ।

परियोजनाका विभिन्न पक्षबारे विस्तृत छलफल भएको र दुवै पक्षबिच कार्यान्वयको गति तीव्र बनाउने सहमति भएको वक्तव्यमा उल्लेख छ ।

भूकम्पका कारण प्रभावित भएका ५० हजार घर बनाउन सहयोग गर्ने भारतीय प्रतिबद्धता अन्तर्गत ४६ हजार ३०१ घर निर्माण भएको छ ।
यस्तै नेपालले कोभिड–१९ को महामारी विरुद्धको अभियानमा भारतले गरेको सहयोगप्रति पनि आभार व्यक्त गरेको छ ।

भर्च्युअल बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागी तथा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत वियन मोहन क्वात्राले गरेका हुन् ।

कालापानी–लिम्पियाधुरा–लिपुलेकलाई लिएर सीमा विवादले तनावको सिर्जना भएपछि पहिलोपटक नेपाल र भारतबिच आधिकारिक तहमा छलफल भएको हो ।

यसअघि शनिबार भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन संवाद भएको थियो ।

भारतको सहयोगमा नेपालको तराई क्षेत्रमा सडक तथा रेल मार्ग निर्माण भइरहेको छ भने भूकम्पपछिको पुनर्निर्माण, प्रहरी प्रशिक्षण एकेडेमी, पोलिटेक्निक कलेज तथा पाइपलाइन निर्माणको काम पनि भइरहेको छ ।

परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा गठन गरिएको संयुक्त संयन्त्रको बैठक पछिल्लो पटक सन् २०१९ को जुलाईमा भएको थियो ।

संयन्त्रको अर्को बैठक दुवै पक्षको सहमतिमा तोकिने सहमति पनि भएको छ ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्