Logo
७ बैशाख २०८१, शुक्रबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकका कर्मचारीको पीसीआर र संक्रमितको उपचार खर्च सरकारले नव्यहोर्ने

कोभिड-१९ संक्रमित र सम्पर्कमा आएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पीसीआर परिक्षण तथा रोग उपचारको खर्च सरकारले नबेहोर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा सूचना जारी गर्दै सबै खर्च सम्बन्धित संस्थाले नै व्यहोर्नु पर्ने जानकारी गराएको हो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बिहीबार सूचना प्रकाशन गर्दै कोभिड–१९ बाट संक्रमित कर्मचारीलाई तुरुन्त व्यवस्थित रुपमा घर, अस्पताल वा होटलमा आइसोलेसनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्नुपर्ने र सोको उपचार खर्च संस्थाले नै व्यहोर्नु पर्ने उल्लेख छ । यस्तै संक्रमितको सम्पर्कमा आएका वा कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई पनि आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्‍न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च पनि बैक तथा वित्तीय संस्थाले व्यहोर्नु पर्नेछ ।

यसरी आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि मात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन छ । बैंक तथा वित्तीय संस्थाले इलाका बाहिर खटिएका कर्मचारी संस्थामा फर्कदा पीसीआर परिक्षण गराएर रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था गर्नु पर्नेछ ।

राष्ट्र बैंकको सूचनामा दुई सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला र काठमाडौं उपत्यकाका बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीलाई आलोपालोमा कार्यसम्पादन गराउन निर्देशन गरेको छ ।

बाँकी कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाले घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने, सो अवधिको हाजिरी हुने व्यवस्था गर्नुपर्ने र उनीहरुलाई पुरै तलब दिनुपर्नेछ । घरबाटै काम गर्ने कर्मचारीको हाजिरीमा अतिरिक्त बिदा र वोर्क फ्रम होम उल्लेख गरी हाजिरी गराउन राष्ट्र बैंकले भनेको छ ।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्