Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबैभन्दा कम ब्याजमा ऋण दिँदै राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले लिने कर्जाको ब्याजदर नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा सस्तो भएको छ।

बैंकको आधारदर ६ प्रतिशतभन्दा कम भएकाले समग्रमा ब्याजदर पनि एकल विन्दुमा झरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको आधार दर ६ प्रतिशतभन्दा पनि तल ५ दशमलव ९० प्रतिशत कायम भएको जानकारी दिए। यसमा १ दशमलव २५ प्रतिशतदेखि ३ दशमलव २५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा उपलब्ध गराइएको श्रेष्ठले बताए। अधिकतम प्रिमियम जोड्दा समेत बैंकको ब्याजदर ९ प्रतिशतको हाराहारीमा रहेकाले बैंकको ब्याजदर अन्य बैंकहरुको भन्दा धेरै सस्तो भएको श्रेष्ठको भनाइ छ।

उनले ७ दशमलव २५ प्रतिशत ब्याजदरको घरकर्जा उपलब्ध गराइएको पनि जानकारी दिए। यो कर्जा घर किन्न, घडेरी किनेर घर बनाउन र अन्य बैंकबाट लिएको घरकर्जालाई स्वाप गर्ने सुविधा समेत दिइएको उनको भनाइ छ।

कोभिड-१९ को असरले कर्जाको माग कम भएको र निक्षेपमा चाप नपर्दा लगानीयोग्य रकम बढेकाले निक्षेप र कर्जा दुवैमा ब्याजदर घटेको श्रेष्ठले बताए। उनले नेपालका वाणिज्य बैंकहरुमा सबैभन्दा बढी प्रतिस्पर्धी राष्ट्रिय वाणिज्य बैंक नै रहेको र यसको ब्याजदर पनि अन्य बैंकको तुलनामा न्यून भएको दाबी गरे। राष्ट्रिय वाणिज्य बैंकको कर्जाको ब्याजदरमा स्थायित्व समेत रहेको उनको भनाइ छ।

अहिले बैंकिङ प्रणालीमा यसै पनि निक्षेप बढी र कर्जाको माग कम हुँदा अधिक तरलता देखिएको छ। यो अवस्था राष्ट्रिय वाणिज्य बैंकमा पनि छ। पछिल्लो अवस्थामा राष्ट्रिय वाणिज्य बैंकमा कर्जा–पूँजी–निक्षेप अनुपात ६३ प्रतिशत कायम भएको छ। यसको अर्थ बैंकमा अझै लगानीयोग्य रकम प्रसस्त छ। त्यसैले कर्जाको ब्याजदर तत्काल हेरफेर हुने सम्भावना नभएको श्रेष्ठले प्रष्ट पारे।

प्रकाशित मिति: Aug 13, 2020

प्रतिक्रिया दिनुहोस्