Logo
१२ बैशाख २०८१, बुधबार
(August 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माडी नपाको नाम परिवर्तन गरेर अयोध्यापुरी बनाइने, विशाल मूर्ति स्थापना गर्न प्रधानमन्त्रीको निर्देशन

माडी नपाको नाउँ नै परिवर्तन गरेर अयोध्यापुरी बनाइने भएको छ । प्रधानमन्त्रीसँगको भेटमा माडी नगरपालिकाका जनप्रतिनिधिहरुको उक्त पालिकाको नाम नै परिवर्तन गरे अयोध्यापुरी बनाइने बताएका हुन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि अयोध्या नेपालमै रहेको दोहोर्‍याउँदै चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिलाई उक्त क्षेत्रमा बृहत् धार्मिक मेला लगाउन तथा राम-सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न भनेका छन् ।

साविक अयोध्यापुरीसहित चार गाविस गाभेर माडी नगरपालिका बनाइएको हो । खोज समितिका संयोजक पौडेल साविक अध्योध्यापुरी गाविसका अध्यक्ष हुन् ।

तत्कालीन अयोध्यापुरी गाविस अहिले माडी नगरपालिकाको वडा नं ८ र ९ मा पर्छ । माडी नगरपालिका–१ मा वाल्मीकि ऋषिको आश्रम पनि छ । त्यहाँ लवकुशको जन्म भएको भन्ने गरिन्छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालसहितको टोलीलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर ओलीले यस्तो सुझाव दिएका हुन् ।

‘आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्न तथा अर्को वर्षको रामनवमीमा राम-सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको छ,’ माडी नगरपालिकाले गठन गरेको अयोध्या खोज, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले भने ।

प्रधानमन्त्री ओलीलाई भेट्न माडीबाट नगरप्रमुख ढकालसहितको टोली काठमाडौं गएको थियो । माडी नगरका प्रवक्तासमेत रहेका वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदीका अनुसार साँझ प्रधानमन्त्री निवासमा भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको उपस्थिति थियो ।

माडी क्षेत्रको धार्मिक महत्त्वबारे अध्ययन गर्दै आएका लोकमणि पौडेल पनि प्रधानमन्त्री ओलीसँगको छलफलमा सहभागी थिए । उनले धार्मिक आधारहरूबाट पनि अयोध्या माडीमा पर्ने मत राख्दै आएका छन् । ‘प्रधानमन्त्रीज्यूले माडीको अयोध्यापुरी नै राम जन्मभूमि भएको आधार छ, यसलाई स्थापित गर्नुपर्छ भन्नुभयो,’ नगर प्रवक्ता सुवेदीले भने ।

प्रधानमन्त्री ओलीले ठोस प्रमाण जुटाउँदै जान र योजना बनाएर काम पनि सुरु गर्न सुझाएका छन् । ‘शास्त्रीय हिसाबले अध्ययन गर्दा माडी क्षेत्रमा नै प्राचीन अयोध्या भएका आधारहरू धेरै रहेको प्रधानमन्त्रीले हामीलाई बताउनुभयो । उहाँले खोज अनुसन्धान र कार्ययोजना बनाउन भन्नुभएको छ,’ खोज समितिका संयोजक पौडेलले भने ।

प्रधानमन्त्री ओलीले गत असार २९ गते भानु जयन्तीका अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा वीरगन्ज नजिकको ठोरीमा अयोध्या भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले माडी-९ कुसुमखोलामा सुकुम्बासी बस्तीमा निकुञ्जले आगो लगाएको घटनाबारे पनि चासो राखेका थिए । उनले निकुञ्जको संरक्षणसँगै भूमिहीनको पनि व्यवस्थापन गर्ने आश्वासन दिएको प्रवक्ता सुवेदीले बताए ।

प्रकाशित मिति: Aug 9, 2020

प्रतिक्रिया दिनुहोस्