Logo
६ चैत्र २०८०, मंगलबार
(August 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी रकम श्रीमती र भतिजको खातामा राख्दा…

सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गर्ने एक गाउँपालिकाका लेखापालसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भीमसेन रहेका छन् ।

बाहिरबाट ताला लगाई अनावश्यकरूपमा कागजात मिलाउँदै गरेको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला ल्याएको छ । लेखापाल केसीले गत वर्ष २०७६/७७ को बजेटबाट  २४ लाख ९२ हजार ३७२ श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेका थिए ।

विभिन्न शीर्षकमा अनाधिकृतरूपमा उनीहरुको खातामा जम्मा भएको उक्त सरकारी रकम उनीहरुले गाउ“पालिकाकै खातामा जम्मा गरेका थिए ।

उक्त रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । बिना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो ।

अहिले जिल्ला प्रशासन कार्यालयले छानबिनसमेत थालेको छ । रातको समयमा काम गरिरहेको खबर आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।

रातको समयमा कार्यालय जानुका कारण खोजी भइरहेको उनले बताए । कार्यालय समय १०–५ हो, तर रातिमा पनि कार्यालयमा आएपछि त्यसको कारण खोजी गरिरहेका छौँ”, उनले भने, “कर्मचारी मात्र नभई परिवारका सदस्यसमेत कार्यालयमा भेटिनुले कुनै रहस्य लक्षित गर्छ, अनुसन्धान भइरहेको छ ।”अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र दिउसो थप अनुसन्धान गरिने जनाइएको छ ।

प्रकाशित मिति: Aug 7, 2020

प्रतिक्रिया दिनुहोस्