सरकारले कोरोना संक्रमितको उपचारको लागि रेमडेसिभर औषधि प्रयोगमा ल्याउने
नेपाल सरकारले केहीदिन भित्रै कोरोना संक्रमितहरुको उपाचारको लागि रेमडेसिभर नामक औषधी प्रयोगमा ल्याउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार शुक्रबारसम्ममा सो औषधी प्रयोगका लागि बजारमा उपलब्ध हुने जानकारी दिए ।
पछिल्लोसमय कोरोनाभाइरस कोभिड १९ को संक्रमित दरसंगै मृतकको संख्या बढ्दै गर्दा मन्त्रालयले संक्रमितका लागि औषधी प्रयोग गर्न मिल्ने जनाएको छ ।
मन्त्रालयले बुधबार रेमडिसिभर औषधीलाई औपचारीक रुपमा स्वीकृत प्रदान गर्ने उनको भनाई छ । मन्त्रालयमा कोरोनाका लागि प्रयोग गरिदै आएको अर्को औषधी हाइड्रोक्लोरोक्विन पनि उल्लेख मात्रामा रहेको बताएका विशेषज्ञ डा. पोखरेलले रेमडिसिभरको नतिजा राम्रो रहेको बताँउछन् ।
उनका अनुसार आईसियुमा रहने विरामीका लागि सो औषधी प्रभावकारी हुनेछ । यद्धपी सरकारले संक्रमित विरामीलाई सो औषधी निशुल्क वा शुल्कमा उपलब्ध गराउने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको छ ।
विश्वमा कोरोनासंक्रमित अधिक रहेको अमेरिकाले यसै औषधीको प्रयोग गर्दै आएको छ। अफ्रिकीमुलुकमा फैलिएको इबोला नामक महामारीको उपचारका लागि अमेरिकास्थित क्यालिफोनिर्याको गिलेड फर्मासिटिकल्स कम्पनीले उत्पादन गरेको हो ।
अमेरिकाले पछिल्लोसमय रेमडेसिभर औषधी अन्य राष्ट्रको तुलनामा धेरै खरिद गरेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।