Logo
१३ बैशाख २०८१, बिहीबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ स्थित बारा जिल्लामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा

प्रदेश २ स्थित जिल्ला प्रशासन कार्यालय बाराले आइतबारदेखि लागू हुने गरी बढी भिडभाड हुने स्थान तोकेर अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा रोगको संक्रमणलाई नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक भेला हुन तथा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकोले स्थान निर्धारण गरेर आइतबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया-वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको छ ।’

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा संलगन रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्ने निर्णय भएको उनले बताए ।

निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु(विवाह, व्रतवन्ध, भोजभतेर) गर्न प्रतिवन्ध लगाइएको छ ।
यस्तै छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवात जावत पूर्णमा रुपमा बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्