Logo
१५ चैत्र २०८०, बिहीबार
(July 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको अयोध्यामा राम मन्दिर शिलान्यासका दिन जनकपुरधाममा दीपावली मनाइने

भारतको अयोध्यामा हुने राम मन्दिर शिलान्यासका दिन जनकपुरधाममा दीपावली मनाउन जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले आग्रह गरेका छन् ।

जानकी मन्दिरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महन्थ दासले त्यसदिन घर घरमा रामस्तुती र भजन कीर्तन गर्न समस्त मिथिलावासीलाई आह्वान गरेका छन् ।

उत्तर प्रदेशस्थित अयोध्यामा निर्माण हुन लागेको राम मन्दिर विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बीका लागि गौरवको विषय रहेको भन्दै महन्थ दासले खुशियालीमा दीपावली मनाउन आग्रह गरेका हुन् ।

उनले सम्पूर्ण जनकपुरधामवासी लगायत समस्त मिथिलावासीलाई शिलान्यास हुने दिन ५ अगस्त अर्थात साउन २१ गते दीपावली मनाउन आग्रह गरेका छन् ।

कोरोनाभाइरसका कारण भूमिपूजनको अवसरमा जानकी मन्दिरको प्रतिनिधित्व हुन नसक्दा दुःख लागेको बताउँदै महन्थ दासले कोरोना महामारीको कारण आफूहरु भूमिपूजनमा सहभागी नभएपनि अवस्था सहज भएपछि जनकपुरधामदेखि अयोध्यासम्म मिथिला-अवध यात्रा गर्ने योजना बनाएको जानकारी दिए ।

उनले भने, ‘अयोध्यामा रामजन्मभूमिमा भूमिपूजनको तयारी चलिरहेको क्रममा आकस्मिक जाँच गर्दा रामललाका एक सहायक पुजारी र परिसरमा रहेका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ पाइएको छ ।

तसर्थ अवस्था पक्कैपनि जटिल नै होला, त्यसैले अवस्था सहज भएपछि नागरिक समाजका तर्फबाट कांग्रेस उपसभापति विमलेन्द्र निधि सहित जानकी मन्दिरको प्रतिनिधित्व गर्दै हामीहरु त्यहाँ अवश्य पनि जानेछौं ।’

जनकपुर र अयोध्याको धार्मिक सांस्कृतिक सम्बन्ध रहेको बताउँदै महन्थ दासले यस गौरवपूर्ण सम्बन्धलाई कुनै व्यक्ति विशेषले चाहेर पनि समाप्त गर्न नसक्ने दाबी गरेका छन् ।

पत्रकार सम्मेलनमा जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले लकडाउन खुकुलो भएपछि मिथिलावासीको तर्फबाट हजारौंको संख्यामा मिथिला-अवध यात्रा निकालिने र त्यसबेला यहाँबाट राम मन्दिर निर्माणमा ईंटा थप्न आफुहरु सहभागी हुने बताए ।

शिलान्यासका दिन साँझमा समस्त मिथिलावासीलाई आफ्नो घरमा दीपावली मनाउन आग्रह गर्दै दासले राम र सीताको भजन कीर्तन समेत गर्न सबैसँग आग्रह गरे ।

उनले काशिको सरयुग घाटमा उत्तर प्रदेश सरकारले निर्माण गर्न लागेको भगवान रामको ऐतिहासिक प्रतिमाको सँगै माता सीताको पनि प्रतिमा राख्न पनि उत्तर प्रदेश सरकारलाई सुझाव दिएका छन ।

सीता बिना रामको परिकल्पा गर्न सकिंदैन,उनले भने,‘सीता र राम एक साथ हुनुपर्दछ ।’

प्रकाशित मिति: Jul 31, 2020

प्रतिक्रिया दिनुहोस्