Logo
१५ चैत्र २०८०, बिहीबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ५ मा कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन हुँदै

कृषि क्षेत्रमा जनशक्तिको अभाव हुन नदिन प्रदेश नं ५ सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पर्याप्त जनशक्ति परिचालन गरी कृषि व्यवसाय विस्तार र व्यवस्थित गर्न तथा आफ्नै ठाउँमा रोजगारीको सुरक्षा सुनिश्चित गर्न सो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बताइन् ।

“कृषकले पाखुरामा बल हुँदासम्म काम गर्ने तर बुढेसकालमा भविष्य नै सुनिश्चित नहुने समस्या छ, हामीले पेन्सनसहितको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्न लागेका छौँ, यसले रोजगारी बढाउन तथा कृषि क्षेत्रमा जनशक्तिको अभावलाई परिपूर्ति गर्ने विश्वास छ”, उनले भनिन् ।

नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) स्थित बर्दघाट नगरपालिकामा रहेका कृषिसँग सम्बन्धित विभिन्न सहकारी संस्थाको आज अनुगमन गर्दै मन्त्री पौडेलले भनिन्, “कृषि व्यावसायिक रुपमा गर्न नसकेका समुदायलाई लक्ष्य गरी सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई सामाजिक सुरक्षा कोषसँग जोडेका छौँ, कृषिकर्मीको २० प्रतिशत तलब प्रदेश सरकारले थप्नेछ भने ११ प्रतिशत कोषमा योगदान गरिनेछ ।”

कृषकलाई कृषि व्यवसाय विस्तार गर्न प्रदेश सरकारले सहजीकरणसहितको ऋण लगानी गर्ने पनि मन्त्री पौडेलले बताए । ऋणवापतको व्याज सरकारले नै तिरिदिने बताउँदै उनले चक्लाबन्दी र सहकारी खेतीमा जोड दिन आग्रह गरिन् ।

‘हरित स्वयमसेवक’

प्रदेश सरकारले कृषिसँग सम्बन्धित योजना र कार्यक्रम कृषकका घरघरमा पुर्‍याउन ‘हरित स्वयमसेवक’ परिचालन गर्ने योजना पनि अघि सारेको छ ।

“सरकारका नीति, योजना कृषकको घरघरमा सूचित गर्ने तथा कृषकको समस्यालाई नीतिनिर्माण तहमा पुर्‍याउन पुलको काम गर्ने गरी प्रत्येक वडामा हरित स्वयंसेवक परिचालन गर्ने कार्यक्रम हामी सञ्चालन गर्ने तयारीमा छौँ”,मन्त्री पौडेलले भनिन् ।

कृषिको विकासबाट नै समृद्ध प्रदेश निर्माण गर्न सकिने भएकाले प्रदेश सरकारले किसानमैत्री योजनालाई उच्च प्राथमिकता दिएर बजेट तथा कार्यक्रम अघि सारेको उनले बताइन् ।

बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले कृषिकर्ममा लाग्नेलाई आत्मगौरवको महसुस गराउन नगरपालिकाले भूमि कर मिनाहा गरेको बताइन् ।

नगरपालिकाले गत वर्षका तुलनामा यस वर्ष पाँच गुणा बढी बजेट कृषिमा विनियोजन गरेको बताउँदै उनले कृषि उत्पादनको बजारीकरणमा पर्याप्त बजेट विनियोजन गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरिन्।

प्रदेश नं ५ का पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक तुलसीराम भण्डारीले समृद्धि प्राप्तिका लागि उत्पादनसँग जोडेर कृषकलाई आत्मनिर्भर बनाउने काम गर्न सहकारीलाई आग्रह गरिन् ।

मन्त्री पौडेल नेतृत्वको टोलीले बर्दघाट-१४ चौपत्तास्थित प्रदेशकै नमूना, सबैभन्दा धेरै दुग्ध सङ्कलन गर्ने र सबैभन्दा धेरै कृषकलाई प्रोत्साहन अनुदान वितरण गर्न सफल चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको दुग्ध उद्योग, बर्दघाट-४ स्थित माकर बहुमुखी सहकारी संस्थाले निर्माण गरिरहेको कृषि हाटबजार र बर्दघाट-१०स्थित विशाल बहुउद्देश्यीय सहकारी संस्था र प्रदेश सरकारको संयुक्त लगानीमा शुरु गरिएको नवीनतम सोचअन्र्तगतको तरकारी खेतीको अनुगमन तथा जानकारी लिएको थियो ।

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्