Logo
६ बैशाख २०८१, बिहीबार
(July 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ ।

बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताए ।

“भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उनले भने, “अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छौँ । ”

त्रिविले ती परीक्षाका लागि चाँडै नै कार्यतालिका प्रकाशन गर्ने तयारीमा समेत रहेको छ । यसपटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ ।

त्रिविले गत चैत ७ गतेदेखि कोभिड-१९ को कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् ।

वार्षिक परीक्षा अन्तर्गत स्नातकोत्तर तह प्रथम र स्नातक तह चौथो वर्षको परीक्षा बाँकी रहेको छ । यस अघि व्यवस्थापन सङ्कायको डीन कार्यालयले भदौ दोस्रो हप्तादेखि स्नातकोत्तर तह र स्नातक तह प्रथम, तेस्रो, पाचौँ र सातौँ सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ताबाट गर्ने जानकारी कार्यालयका सहायक डिन प्रा डा ध्रुवकुमार गौतमले सूचना प्रकाशित गरिसकेका छन् ।

प्रकाशित मिति: Jul 29, 2020

प्रतिक्रिया दिनुहोस्