Logo
२६ असार २०८२, बिहीबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुकुममा पहिरोमा परी २ जनाको मृत्यु

रुकुमपश्चिम : रुकुमपश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका(९ स्यालाको एक घर सोमबार राति पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको हो ।

रातभर परेको वर्षाका कारण आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाउँदा उनका छोरा २२ वर्षीय नवीन विक र छिमेकी हस्तबहादुर सुनारका छोरा १६ वर्षीय बलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नवीन र बलबहादुरको शव भेटिएको र चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जसवीरकी श्रीमती ६० वर्षीय झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी पाँच वर्षीया कोपिला र तीन वर्षीया ऋतु कामीको उद्धार गरिएको हो ।

झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । मंगलबार बिहान करिब ४ बजेतिर घरदेखि १० मिटर माथिबाट आएको पहिरोले उक्त घर बगाएर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्‍याएको छ ।

घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयवासीले जीवितै उद्धार गरेका हुन् भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए । पहिरो हटाएर उनीहरुको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्माका इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले बताए ।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्