Logo
७ बैशाख २०८१, शुक्रबार
(July 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पल कम्पनीका संस्थापकले हाले युट्युबविरुद्ध मुद्दा

एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले सामाजिक सञ्जालको भिडियो शेयरिङ प्लाटफर्म युट्युबविरुद्ध मुद्दा हालेका छन् ।

स्टिभ जब्ससँगै एप्पल कम्पनीको स्थापना गरेका वोज्नियाकले बिटक्वाइनसम्बन्धी फर्जी भिडियो विज्ञापनमा आफ्नो नाम दुरुपयोग गरिएको र सो भिडियो प्रसारण नगर्न अनुरोध गर्दासमेत युट्युबले अस्विकार गरेको भन्दै युट्युबविरुद्ध मुद्दा हालेका हुन् ।

युट्युबविरुद्ध क्यालिफोर्नियाको उच्च अदालतमा वोज्नियाकसहित १७ जनाले मुद्दा दायर गरेका छन् ।

युट्युबमा स्टिभ वोज्नियाक लगायतका चर्चित व्यक्तिहरुका तस्वीर तथा भिडियो संलग्न गरिएका विभिन्न फर्जी भिडियो तथा प्रवद्र्धनात्मक विज्ञापनहरु निरन्तर प्रसारण हुने गरेको र त्यस्ता सामाग्रीहरुबाट निर्देशित भई क्रिप्टोकरेन्सीको कारोबार गर्दा युट्युब प्रयोगकर्ताहरुले लाखौँ डलर गुमाउने गरेको अदालतमा दायर निवेदनमा भनिएको छ ।

वोज्नियाकले युट्युबको यस्तो गतविधिलाई हालैको ट्वीटर ह्याकिङ काण्डसँग तुलना गर्दै उस्तैखाले ठगीबाट रकम कमाउने गरेको आरोप लगाएका छन् ।

हालै ट्वीटरमा बिटक्वाइन ह्याकिङका क्रममा बिल गेट्स, जोए बाइडेन, माइकल ब्लुम्बर्ग, एलोन मस्क लगायतको ट्वीटर अकाउन्ट ह्याक भएको थियो ।

त्यस्तो ह्याकिङविरुद्ध ट्वीटरले कदम चालेको भएपनि त्यस्तै खालका फर्जी भिडियोहरुमाथि युट्युबले भने कुनै एक्सन लिएको छैन ।

युट्युबविरुद्ध अदालतमा हालिएको मुद्दामा निवेदकहरुले क्षतिपूर्तिको मागदाबी पेश गर्दै युट्युबमा त्यस्ता भिडियोहरुमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । साथै प्रयोगकर्ताहरुलाई त्यस्ता ठगीपूर्ण विज्ञापनहरुका बारेमा चेतावनी जारी गर्न लगाउन समेत माग गरिएको छ ।

युट्युबमा आउने त्यस्ता ठगी भिडियो विज्ञापनहरुमा वोज्नियाक लगायतका चर्चित व्यक्तित्वहरुको तस्वीर तथा भिडियोहरु प्रयोग गर्दै मानिसहरुलाई बिटक्वाइनको कारोबार गरेर दोब्बर कमाउन सकिने लोभ देखाइन्छ ।

मानिसहरुलाई आफुसँगको बिटक्वाइन ट्रान्सफर गरेमा दोब्बर बिटक्वाइन प्राप्त गर्न सकिने गलत सन्देश दिएका विज्ञापनहरुबाट लाखौँ युट्युब प्रयोगकर्ताहरु प्रभावित भएर ठगिएका छन् ।

प्रकाशित मिति: Jul 28, 2020

प्रतिक्रिया दिनुहोस्