भरतपुरमा राजकुमार गुरुङको हत्या अभियोगमा पाँच जना पक्राउ
बागमती प्रदेश स्थित भरतपुर महानगरपालिका–१४ का राजकुमार गुरुङको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सोमबार कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।
भरतपुर महानगरपालिका-१० मैयादेवी कन्याकलेज नजिकको झाडीमा गत असार २३ गते ४१ वर्षीय गुरुङको शव भेटिएका थियो ।
पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका-४ घर भई भरतपुर महानगरपालिका-१० बस्ने ३४ वर्षीय कमल गन्धर्व, रौतहटको गजुरा नगरपालिका-१ घर भई सोही स्थान बस्ने ३० वर्षीय अमरबहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका घर भई सोही स्थान बस्ने २४ वर्षीय सागर ओली, भरतपुर महानगरपालिका-८ बस्ने ३१ वर्षीय प्रकाश विक र एक बालक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
हत्यामा संलग्न दुई फरार रहेको, गुरुङले कमल गन्धर्वसँग ठेला रिक्सा केही समयका लागि मागी लगेको र सोही ठेला पदमपुरमा लगी बिक्री गरेको भन्ने विषयमा विवाद हुँदा गुरुङको हत्या भएको अनुसन्धानबाट खुलेको उनले बताए ।