Logo
८ बैशाख २०८१, शनिबार
(July 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘किसान क्रेडिट कार्ड’ कडाइका साथ लागू गर्दै सरकार

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् चालु आर्थिक वर्षमा कृषि विकास बैंकलाई अगुवा बैंक बनाउँदै किसानलाई ऋण सहजीकरण गर्ने र किसान क्रेडिट कार्डको पनि व्यवस्था गर्ने घोषणा गरेको छ ।

किसानलाई ऋण र अनुदानमा सहयोग पुर्‍याउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले यो कार्यक्रम घोषणा गरेको बताएको छ ।

यो सुविधा प्राप्त गर्नका लागि भने हरेक किसानले कृषि विकास बैंकमा खाता खोलेको हुनुपर्छ ।

क्रेडिट कार्ड वितरण र कृषकलाई सहजीकरण गर्ने उद्देश्यले कृषि विकास बैंकले अहिले ‘किसान एप’ बनाइरहेको छ । किसान क्रेडिट कार्ड र किसान एप एकार्कामा सम्बन्धित हुन्छन् ।

हरेक कृषि विकास बैंकको शाखाबाट किसानको ऋण वा अनुदान स्वीकृत भएपछि कृषकले लिएको उक्त ऋण वा अनुदान रकम कार्डमा ‘लोड’ गरिन्छ र एपमा किसानको ‘प्रोफाइल’ तयार हुन्छ ।

उक्त एपमा कृषकले आफनोबारे जानकारी लिन तथा पढ्न बैंकले ‘युजर आईडी’ र ‘पासवर्ड’ उपलब्ध गराउँछ ।

सोही किसान एपमै खाद्य सामग्रीको बजार मूल्य, कृषि सामग्री, मल, बीउलगायतका सामग्रीको मूल्य तथा खरिद गर्नसक्ने व्यवस्था गरिएको छ ।

किसानले प्रयोग गर्ने किसान क्रेडिट कार्ड लिएपछि उनीहरुले ‘क्यूआर कोड’मार्फत् रकम भुक्तानी गर्न सक्छन् ।

‘एटीएम’जस्तै देखिने र सोही आकारको भएपनि यो कार्ड एटीएम बुथमा चल्दैन ।

किसानले एप र कार्डकै माध्यमबाट बजार मूल्य र मौसमकोसमेत जानकारी पाउनसक्ने भएकोले कृषकलाई अझै सहयोगी हुने कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय बताउनुहुन्छ ।

यस कार्डको माध्यमद्वारा सरकारको कार्यक्रम पनि लक्षित वर्गसम्म पुग्नसक्ने तथा अनुदानको गलत प्रयोगसमेत रोक्नसक्ने कृषि विकास बैंकले जनाएको छ ।

कृषि विकास बैंकले हरेक गाउँ–गाउँमा कृषि सामग्री बिक्री गर्न एक/एक ‘एजेन्ट’ राख्दछ र किसानले किसान एपमार्फत् कृषि सामग्री खरिद गरी सोही एजेन्टबाट सामग्री लिन सक्छन् ।

किसानलाई नगद नै चाहिएमा पनि कार्ड लिएर नजिकैको कृषि विकास बैंकको शाखामार्फत् लिनसक्ने उपाध्यायको भनाइ छ ।

उद्यमशीलताको विकास र कर्जा प्रवाहमा सहयोग पुर्‍याउने र कृषकलाई पनि सहज बनाउने उद्देश्यसहित ल्याइएको किसान क्रेडिट कार्डको तयारी अन्तिम चरणमा पुगेको बैंकले जानकारी दिएको छ ।

यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा दीर्घकालीन वित्तीय उपलब्धता कायम गर्न कृषि ऋणपत्रसमेत जारी गर्ने व्यवस्था पनि गरेको छ ।

प्रकाशित मिति: Jul 26, 2020

प्रतिक्रिया दिनुहोस्