Logo
१२ श्रावण २०८१, शनिबार
(July 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएन आत्महत्या ! लकडाउनमा २ हजार बढिले प्राण त्यागे

कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर दुई हजार २१८ वटा आत्महत्याका घटना भएका छन्।

आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक गरेको हो।

११ चैत २०७६ देखि ४ साउन २०७७ सम्मको एक सय १८ दिनमा भएका आत्महत्याका घटनामध्ये दुई हजार २०२ वटा मुद्दा दर्ता गरेको छ।

सबैभन्दा धेरै एक हजार १७२ पुरुषले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। आत्महत्या गर्नेमा ८११ महिला, ९४ बालक र १४१ बालिका छन्।

सबैभन्दा धेरै झुन्डिएर आत्महत्याका एक हजार ८२८ वटा घटना एका छन्। विष खाएर ३४६, आगो लगाएर आत्महत्याका ४ वटा घटना भएका छन्। औजार तथा हतियारबाट ८, हामफालेर १९ करेन्ट लगाएर एक र डुबेर आत्महत्याका १२ वटा घटना भएको नेपाल प्रहरीले जनाएको छ।

आर्थिक वर्ष ०७५÷७६ को ०७५ चैत १ देखि २०७६ असार ३१ गतेसम्म आत्महत्याका दुई हजार २६७ घटना भएका थिए। सबैभन्दा धेरै झुन्डिएरै एक हजार ७२८ ले आत्महत्या गरेका थिए।

विष खाएर ५००, आगो लगाएर ६, औजार तथा हतियारबाट ६, हामफालेर १७ र डुबेर १० जनाले आत्महत्या गरेका थिए।

सबैभन्दा धेरै एक हजार २३२ पुरुष, ८४२ महिला, ९५ बालक र १०५ बालिकाले आत्महत्या गरेका थिए।

प्रहरीले लकडाउनमा भएका आत्महत्याका घटना र अघिल्लो आर्थिक वर्षको चैतदेखि असारसम्मको तुलनामा मुद्दा दर्ताको संख्या २.१६ प्रतिशतले कमी आएको बताएको छ।

मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको देखिन्छ।

प्रहरी प्रवक्ता डीआइजी निरजबहादुर शाही नेपाल प्रहरीले आत्महत्याको रोकथाम र न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँछन्।

आत्महत्यासम्बन्धी घटनाको प्रभावकारी ढंगले छानबिन तथा अनुसन्धान गर्न प्रहरी कार्यालयहरुलाई परिपत्रसमेत गरिएको छ।

प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवं मनोसामाजिक परामर्श दिने विभिन्न संघसंस्थासँग समन्वय गरेर आत्महत्या रोकथाम तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आत्महत्या गर्न सक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता शाहीले बताए।

प्रकाशित मिति: Jul 25, 2020

प्रतिक्रिया दिनुहोस्