Logo
१५ चैत्र २०८०, बिहीबार
(July 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनमा लकडाउनको अवधिमा १२५ मुद्दाको फैसला, ९१ जनालाई कारागार पठाइयो

चितवन : लकडाउनको अवधिमा चितवन जिल्ला अदालतबाट १२५ मुद्दा फैसला भएका छन् ।कोरोना सङ्क्रमणको समयमा सरकारले लकडाउन गरेसँगै अदालतमा २३० वटा मुद्दा दर्ता भएको थियो ।

ती फैसलाबाट ९१ जनालाई कारागार पठाइएको छ । सोही समयमा फैसलाबाट १२१ जना छुटेका छन् । अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार लकडाउनमा बन्दी प्रत्यक्षीकरणमा १, सरकारवादी फौजदारी १२४, दुनियावादी देवानी ८१, दुनियावादी फौजदारी २१ र निषेधाज्ञा तीन वटा मुद्दा दर्ता भएका थिए ।

फैसला हुनेमा सरकारवादी फौजदारी ४५, दुनियावादी देवानी ४०, दुनियावादी फौजदारी १०, निषेधाज्ञा एक, मिलापत्र २१ भएको छ । यस्तै आठ वटा मुद्दा फिर्ता भएको गिरीले जानकारी दिनुभयो ।

अदालतका अनुसार लकडाउनमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १ सय ५५ बमोजिम सुविधा पाउने कैदी १८ रहेका छन् । जसमा एक वर्षसम्म कैद तोकिएकालाई दैनिक रु ३०० तिरेर कैद भुक्तान गरेका थिए ।

यसका लागि २६ वटा निवेदन दर्ता भएका थिए । सोही समयमा २६ पक्राउपूर्जी, जरुरी पक्राउपूर्जी समर्थन ६० वटा, म्याद थप २२३ पटक, विवाह दर्ता दुई, अधिकृत वारेसनामा आठ वटा काम भएको उहाँले जानकारी दिनुभयो ।

लकडाउनमा पनि कार्यालय बन्द नभई काम भएको यस कार्यालयले चैतको ९ गतेदेखि अभियोग दर्ता, थुनछेक, म्याद थप, जरुरी पक्राउ पूर्जी जस्ता काम रोकिएको थिएन ।

जेठ १९ गतेपछि थुनुवाको मुद्दा सुनुवाइ, कसुर ठहर भई सजाय निर्धारण, बालबालिकाको मुद्दा सुनुवाइ र विवाह दर्तालगायत जेठ ३० गतेदेखि मुद्दाको डिसमिस, तामेलिका लागि सुनुवाइ, मिलापत्रलगायतका कामसमेत गरिएको कार्यालयले जनाएको छ । असार महिनाबाट सम्पूर्ण काम भइरहेका गिरीले बताउनुभयो ।

प्रकाशित मिति: Jul 6, 2020

प्रतिक्रिया दिनुहोस्