Logo
५ जेष्ठ २०८१, शनिबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाचार विश्लेषण : भारतीय नेता करण सिंहले प्रधानमन्त्री ओलीको नामै तोकेर दिए चुनौती

हाल भारत अन्तरगत रहेको काश्मिर स्वतन्त्र हुँदो हो त ८९ वर्षीय करण सिंह त्यहाँका राजा हुन्थे । भारतको स्वतन्त्रतासँगै विभाजनपछि भारत र पाकिस्तानको द्वन्द्वले काश्मिरको स्वतन्त्रता खोसियो ।

उसका विभिन्न भागहरु भारत, पाकिस्तान र चीनको हिस्सामा पुग्यो । दोस्रो विश्वयुद्धबारे जानकार डा. सिंहले आफू राजकुमार भएको देशको स्वतन्त्रता गुमेको घटनालाई प्रत्यक्ष देखेका र भोगेका छन् ।

यी घटनाबारे जानकार डा. सिंह ठुला र शक्तिशाली देशहरुसँग जोडिएका साना र कमजोर देशहरुको वाध्यता र समस्याबारे जानकार नै छन् । त्यसैले उनी नेपालबारे बेला बेलामा चिन्ता व्यक्त गर्छन् ।

नेपाललाई औधी माया गर्ने यी बहुमुखी प्रतिभाका धनी करण सिंहको यतै साइनो पनि छ । उनले मोहन शमशेरकी नातिनी यशो राज्यलक्ष्मीसँग विवाह गरेका थिए ।

हिजो सिंहले जारी गरेको वक्तव्यमा आफ्नो नेपालसँग राजनीतिक मात्र नभई व्यक्तिगत साइनो समेत भएको उल्लेख गरेका छन् ।

उनको वक्तव्य इतिहास र वर्तमानका यथार्थहरुका संक्षिप्त जानकारी समेत छन् । उनले जे बुझेका छन् र भविष्यको सम्भावना देखेका छन् त्यही स्पष्ट भनेका छन् ।

करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको नामै लिएर उनका कदमहरुको आलोचना गरेका छन् । साथै भारतको वर्तमान सरकारको कदमले कुटनीतिक त्रुटीहरुको समेत उल्लेख गरेका छन् ।

तर, उनले ओलीको कदमको आलोचना गरेर भारतभित्र कँग्रेस आईको ओलीलाई साथ रहेको भन्ने अनुमानलाई गलत सावित गरिदिएका छन् ।

कँग्रेस आईका वरिष्ठ नेताको वक्तव्यले ओलीप्रति भारतको कँग्रेस आई पनि सन्तुष्ट छैन भन्ने सन्देश गएको छ । सिंहले कुनै अर्को शक्ति या देशबारे उल्लेख गरेर आलोचना नगरेपनि नेपालसँग बेलैमा वार्ता नगर्नुलाई गम्भीर कुटनीतिक भुल भनेका छन् ।

उनले नेपाल र भारत दुवै नेतृत्वबाट भुल भएको भन्दै यसको नतिजा नेपाली जनताको अनुकुल नहुनेतर्फ औल्याएका छन् । त्यो कस्तो घटनाक्रमतर्फ संकेत हो भन्ने विभिन्न आशंकाहरु हुन थालेको छ । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।

सिंहले तत्काल विभिन्न तहमा वार्ता गर्नुपर्नेमा नगरेकोबार भनेका छन्, हामीले तत्काल विदेश सचिवस्तरीय कुराकानी गर्नुपथ्र्यो, यदि आवश्यक परेको खण्डमा विदेशमन्त्री वा प्रधानमन्त्री तहमा सम्म कुराकानी गर्नुपथ्र्यो ।

प्रत्यक्षरुपमा यो गम्भीर कुटनीतिक भुलका रुपमा देखियो । वास्तवमा भारतले वार्ता गर्न नचाहेको सन्देशहरु गइरहेको छ । तर, उसले विदेश सचिवस्तरीय कुराकानीको प्रस्ताव राखेको दाबीहरु आएका छन् ।

तर, अब वार्ताको पहल नगर्ने सम्मको घोषणाहरु अनोपचारिक तवरले आइरहेको छ । यसले नयाँ चुनौती थप्न सक्छ ।
सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको नामै तोकेर देशलाई अप्ठ्यारो अवस्थामा लगेको भनेका छन् । यसप्रति गहिरो दुःख प्रकट गरेका छन् ।

साथै उनले दुई देशबीच स्थापित सामाजिक, सास्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद ओलीले टकरावको अवस्थामा पुर्याएको भन्दै आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीको कदमबारे उल्लेख गर्दै उनले भनेका छन्, ‘यसले भारतलाई प्रभावित पार्न सक्ला या नसक्ला । मलाई डर छ कि यसको परिणाम नेपालजस्तो सुन्दर देशको जनताको अनुकुल नहुन सक्छ ।’

यो भनाई सबैभन्दा महत्वपूर्ण छ । कँग्रेस आईको विदेश विभाग समेत सम्हालिसकेका सिंहको कुटनीतिक भाषाको वक्तव्यमा धेरै संकेतहरु छन् ।

सिंहले विगतमा भएका नेपालको राजनीतिक परिवर्तनका दौरान कतिपय व्यवस्थापनको प्रयासहरु नगरेका होइनन् । २०६२/६३ को जनआन्दोलनताका उनले तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग काठमाडौं आएरै भेटेका थिए ।

त्यतिबेला उनी तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहको दुतको रुपमा पनि नेपाल आएका थिए । उनले राजसंस्थालाई कुनै न कुनै स्थान दिएर जोगाउन खोजेको विषय नउठेको होइन । तर, सिंहको प्रयास समेत सफल हुन सकेन ।

नेपालका हित चिन्तक तथा नेपाली नेताहरुसँग सहज तरिकाले भेट्ने करण सिंहले जसरी गम्भीर विषयहरु उल्लेख गरेका छन् त्यो आफैमा अर्थपूर्ण छ ।

यसले नेपाल र नेपालीका लागि चुनौतीपूर्ण अवस्थाहरु विकास हुने संकेत गरेको छ । सुन्दा यो तीतो लाग्न सक्छ तर नेपालसँग रोटीबेटीको साइनो भएका काश्मिरका पूर्व राजकुमारले त्यसै वक्तव्य निकालेका होइनन् ।

उनले जे संकेत गरेका छन् त्यो पक्कै पनि नेपाली जनताका लागि अनुकुल हुँदैन भन्ने रहेको छ ।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्